Logo
Logo

विश्व बैंकसँग अनुदान नलिएको सिजीको दावी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ फागुन । चौधरी गु्रपको सिजी टेलिकम्युनिकेसन्स प्रालिले विश्व बैंकसँग आफूले अनुदान नलिएको दाबी गर्दै सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेको छ । सिजी टेलिकम्युनिकेसन्स प्रालिमाथि १ करोड १८ लाख अमेरिकी डलर अर्थात् १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी अनुदान लिएको आरोप लागेको छ ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गर्दै सिजीले प्रेस विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको हो । सिजी कम्प्यूकिनेसनका अनुसार सो रकम तत्कालिन एसटिएम टेलिकम सञ्चारले पूर्वाञ्चलको ग्रामिण क्षेत्रमा दूर सञ्चार सेवा पुर्याउनका लागि विश्व बैंकबाट पूँजीगत अनुदान प्राप्त गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले विश्व बैंकको ऋण सहयोगमा सञ्चालित ‘दूरसञ्चार क्षेत्र सुधार परियोजना’ अन्तर्गत सन् २००३ मा पूर्वाञ्चलका ५ सय ३४ गाविसमा टेलिफोन सेवा उपलब्ध गराउन बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रमा तत्कालीन एसटीएम छानिएको सिजीले जनाएको छ ।
विश्व बैंकले विशिष्ट प्रणालीको अधीनमा रही सहयोग प्रदान गर्ने तथा त्यसको नियमन र सुपरिवेक्षणमा पनि निश्चित मापदण्ड तय हुने गर्छ । उक्त अनुदान उपहार नभएको सिजीको दाबी छ ।
शर्तअनुसार कार्यप्रगती र मापदण्डहरू पुरा भएपछि ५ किस्तामा उक्त रकम निकासा भइसकेको छ । एसटीमले तोकिएको समय र क्षेत्रमा १ हजार ४ सय पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको थियो । सोही कार्य सम्पादनको आधारमा दूरसञ्चार प्राधिकरणले सन् २००७ अप्रिल २ मा सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो । सिजी टेलिकमले सन् २०१३ मा मात्र एसटिएम खरिद गरेको सिजीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्