काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको समाचार भ्रमपूर्ण भएको बताएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको भन्ने समाचार भ्रमपूर्ण भएको बताएको हो ।

एयरलाइन्सले आफ्नो कमजोरीका कारण ईयूले नेपाललाई कालोसूचीबाट नहटाएको दाबीसहित आएका समाचारको खण्डन गर्दै प्राधिकणको कमजोरी रहेको बताएको हो । साथै नेपाल वायुसेवा निगम ट्रेड युनियनले पनि एयरलाइन्सको कारण नेपाल ईयूको कालोसूचीबाट नहटेको समाचार भ्रमपूर्ण भएको बताएको छ ।
ईयूले पठाएको पत्रमा स्पष्ट रूपमा प्राधिकरणका कारण कालोसूचीबाट नहटाइएको उल्लेख गरिए पनि नेपाल एयरलाइन्सलाई आरोप लगाएर भ्रम सिर्जना गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ- ‘युरोपियन युनियन (ईयू)बाट बाट २९ नोभेम्बर २०२३ मा क्यानका महानिर्देशकलाई सम्बोधन गरी बेल्जियमका लागि नेपाली राजदूत महामहिमज्यूलाई बोधार्थ दिई पठाइएको पत्रमा ईयूले नेपाललाई ईयू सेफ्टी लिस्टबाट नहटाउनुको कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागु गर्ने जिम्मेवारी पूरा गर्ने वर्तमान क्षमतामा विश्वस्त हुन नसकिएकाले भनी स्पष्टसँग उल्लेख गर्दागर्दै पनि नेपाल वायुसेवा निगमको कमजोरीका कारण नेपाललाई ईयूले सेफ्टीबाट नहटाएको भनी भ्रमपूर्ण प्रचारबाजी भएको पाइएकाले उक्त समाचारहरूबाट आमजनमानसमा सिर्जना भएको भ्रम निवारण तथा यथार्थ जानकारी दिनका लागि सत्य तथ्य प्रमाणसहित यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’
ट्रेड युनियनले उड्डयन प्रधिकरणले ईयूको सुझाव नमानेको कारण नेपाल ईयूको कालोसूचीबाट नहटेको बताएको छ । युनियनले प्राधिकरणले आफ्नो नीतिगत तथा संरचनागत पुनर्संरचना गर्न नसकेको, हवाई सुरक्षा सम्बन्धी आधारभुत मापदण्ड पुरा नगरी सम्पूर्ण दोषारोपण नेपाल वायुसेवा निगमलाई थुपारेको आरोप लागएको छ ।
युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘युरोपियन युनियन (ईयू)ले सन २०१३ मा नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्रधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रुपमा विभाजन गरी सोही अनुसार कार्यसम्पादन गर्ने जस्ता आधारभूत सुझाव दिएको भएतापनि नेपाल नागरिक उड्डयन प्राधिकरणले हालसम्म सो सम्बन्धमा कति पनि कार्य नगरेको, आफ्नो नीतिगत तथा संरचनागत पुनर्संरचना गर्न नसकेको, हवाई सुरक्षा सम्बन्धी आधारभुत मापदण्ड पुरा नगरेको इत्यादि जस्ता विषयलाई गौण रुपमा राखेर सम्पूर्ण दोषारोपण नेपाल वायुसेवा निगमलाई थुपारी नियामकीय भूमिका निर्वाह गर्न नसकेका विषय हालै भएको ईयू इडिटले समेत औँल्याएको देखिन्छ ।’











