
काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका औषधी पसलहरुमाथि निगरनी बढाएकाे छ । महानगरभित्र अधिकांश औषधीपसल अनधिकृत रुपमा संचालन भएकाे भन्दै महानगरले निगरानी बढाएकाे हाे । महानगरका मेयर बालेन शाहले महानगरभित्र अनधिकृत रुपमा सञ्चालन भइरहको औषधीपसललाई मंसिर २९ गतेसम्म कानुन बमोजिम बनाउन निर्देशन दिएका हुन् ।
मेयर शाहले तोकिएको समयमा तोकिए बमोजिम कनुन कार्यान्वयन नभए कारबाही गर्ने चेतावनी समेत दिएका छन्। अनधिकृत व्यक्तिबाट डाक्टरको प्रेस्किप्सनबिनै जथाभावी औषधि बिक्री वितरण भइरहेको साथै नार्कोटिक औषधीहरूको प्रचलित ऐनरकानुनअनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, गुड फार्मेसी प्राक्टिस (जीपीपी) अनुसार औषधी पसल व्यवस्थापन नगरिएको, काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासा आम उपभोक्ताबाट आइरहेको मेयर शाहले उल्लेख गरेका छन्।
जनगुनासो आएपछि महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा माथि उल्लिखित गतिविधि भइरहेको प्रमाणित भएको मेयर शाहले बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा सुचना जारी गर्दै त्यस्ता औषधि पसललाई यही मंसिर २९ गतेभित्र आफ्ना अवैधानिक कार्य कानुनबमोजिम सच्याउन मेयर शाहले निर्देशन दिएका छन्।
अनधिकृत रूपमा औषधि बिक्री वितरण भइरहेको पाइएमा महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्रि नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी सूचना दिन मेयर शाहले महानगरवासीलाई अनुरोध पनि गरेका छन्।














