धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको बताएका छन् । शुक्रबार धनगढी उपमहानगरपालिका–१६ भादामा आयोजित जनतासँग माओवादी तीन महिने अभियानअन्तर्गत वडाको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले छिमेकी राष्ट्रको भ्रमणका क्रममा नेपाल र नेपाली जनताको पक्षमा विभिन्न विश्व समुदायको ध्यानाकर्षण गरेको समेत बताए । माओवादीको रुपान्तरण अभियान पुस १५ भित्र सम्पन्न गर्ने र त्यसपछि विधान सम्मेलन गरिने उनको भनाइ छ ।

नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विधान अधिवेशनपछि अर्को अभियान सुरु गर्ने र पार्टीको अधिवेशन गर्ने जानकारी दिए । उनले भने, ‘मूलभूतरुपमा अभियान सफल भएको छ । यसले माओवादी पार्टीलाई जनतासँग जोड्ने, आमजनतामा आशा र भरोसा दिन सफल भएको छ ।’
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी रवडा अध्यक्ष रामबहादुर चौधरीले वडाको विकासको गतिविधिबारे जानकारी गराउँदै संघीय सरकारबाट उचित बजेटको व्यवस्था गर्न आग्रह गरेका थिए ।
सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड धनगढी–१६ भादामा आयोजित रूपान्तरण अभियानमा सहभागी भएका हुन् ।














