
काठमाडौं । नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीविरुद्धको ज्यान मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलले बहस गर्ने भएका छन् ।
सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीमा सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेकोमा आजदेखि प्रतिवादीका तर्फबाट बहस हुने भएको हो ।
जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा जारी सुनुवाइअन्तर्गत मंगलबार सरकारी वकिलका तर्फबाट बहस सकिएको छ ।
२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो ।
हत्यामा तत्कालीन मधेशवादी दलका नेता (हाल एमालेका निलम्बित सांसद) लक्ष्मी महतो कोइरीको पनि संलग्नता रहेको भन्दै मुद्दा दायर भएको थियो ।
त्यतिबेला कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो । जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए । उच्च अदालत, जनकपुरले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी फरार छन् ।














