काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा जोड दिएको छ ।
बुधबार काठमाडौंमा बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफ्नो समूहको संरक्षकको काममात्रै रहेको र आफु अनुकुललाई मात्रै टिकट दिएको भन्दै यसपटक भने मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा जोड दिएको हो ।

यसअघिको निर्वाचनमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्ड र न्यायोचित टिकट बितरणका लागि दवाव दिने निर्णयसमेत सो समूहको भेलाले गरेको छ । भेलामा राष्ट्रियसभा निर्वाचन लगायत पार्टीको आन्तरिक बिषयमा छलफल भएको कांग्रेस नेता शेखर कोइरालाले बताए ।
उनले देश र कांग्रेस ठिक ढंगले चल्न नसकेकोमा आफुहरुको ध्यान केन्द्रीत रहेको जिकिर गरे । नेता कोइरालाले आफ्नो समूह ठीक ढंगले चलेको र महामन्त्री र आफ्नो एजेण्डामा एक इन्च पनि फरक नरहेको दावी गरे ।
त्यस्तै, कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा आफुहरुको जोड रहेको बताए ।
बैठकमा महासमिति बैठकलाई तोकिएको समयमा नै प्रभावकारी रुपमा गर्नुपर्ने बिषयमा पनि छलफल भएको उनले बताए । महामन्त्री थापाले कांग्रेस सरकारमा भएका बेला एकमाथि अर्को प्रकरण आउनुलाई सामान्य रुपमा लिन नहुने भन्दै पार्टीभित्र बृहत छलफल गर्नुपर्ने धारणा राखे । कोइराला र आफुबीच एजेण्डागत रुपमा कुनै समस्या नभएको उनले स्पष्ट पारे ।














