काठमाडौं । साहसिक खेलमध्येको एक हो- रक क्लाइम्बिङ अर्थात भीर चढ्ने खेल । यस खेलमा क्याराविनर, हार्डनेस, हेलमेट, चस्मा, डोरी, रक चक, रक सुजको सहयोगमा ढुंगैढुंगा भएको भीर चढ्नुपर्ने हुन्छ । विदेशमा धेरै खेलिने भएपनि नेपालमा आक्कल झुक्कल मात्रै यो खेल खेलाइन्छ ।
नेपाल हिमालै हिमालको देश भनेर चिनिएपनि दुई दशक अघिसम्म नेपालमा रक क्लाइम्बिङको अभ्यास खासै थिएन । छिटफुट रूपमा विदेशीले निर्माण गरिदिएका रुटहरू प्रयोग गरी क्लाइम्बिङ गर्ने गरिन्थ्यो । तर, पछिल्लो समय नेपाल रक क्लाइम्बिङ गर्ने संख्या बढ्दो छ ।
नेपालको पर्यटन सीमित क्षेत्रमा मात्रै केन्द्रित भएको हालको अवस्थामा रक क्लाइम्बिङले साहसिक पर्यटक भित्र्याउने ठूलो सम्भावना बोकेको छ । सोही कारण यसको प्रवर्द्धनको लागि सरोकार निकायहरूले अग्रसरता देखाउन थालेका छन् ।
अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल माउन्टेन एकेडेमीले जीविकोर्पाजन पुनरूत्थानका लागि दीगो पर्यटन परियोजना अन्तर्गत परिचयात्मक रक क्लाइम्बिङ तालिमको सञ्चालन गरिरहेको छ । काठमाडौंको फर्पिङस्थित चिप्ले पहरामा सञ्चालन भइरहेको उक्त तालिममा नेपाल पर्वतारोहण प्रशिक्षक संघको पनि सहयोग रहेको छ ।
तालिममा ४५ जना परीक्षार्थीको सहभागिता रहेको छ । उनीहरूले भीरमा भविष्य खोजीरहेका छन् । भीरदेखि सिकेरै भविष्य उज्ज्वल बनाउने उनीहरूको सपना रहेको छ ।
तालिमका लागि चारजना प्रशिक्षार्थी बराबर एकजना प्रशिक्षकको व्यवस्था गरिएको छ । तालिमका लागि नेपाल माउन्टेन एकेडेमीले आर्थिक सहयोग गरको छ । केही शुल्क भने परीक्षार्थीबाट उठाइएको नेपाल माउन्टेन एकेडेमी कार्यकारी निर्देशक अर्जुन राईले बताए ।
चिप्ले पहरामा मंसिर २३ गतेदेखि २९ गेतसम्म चल्ने उक्त तालिममा नर्सरी लेभलको कोर्ष भएको माउन्टेन गाइड तथा पर्वतारोहण छिरिङ शेर्पा बताउँछन् । यहाँ हिमाल कसरी चढ्ने र कसरी झर्ने सिकाइरहेको उनले बताए ।
चिप्ले पहारामा रक क्लाइम्बिङको नर्सरीदेखि माउन्टेन गाइड लेभलसम्मको तालिम दिइने सहायक प्रशिक्षक टासी शेर्पाले बताउँछन् । अहिले हिमाल चढ्दा आत्मसुरक्षा कसरी गरिन्छ भन्ने तालिम दिइरहेको प्रशिक्षक शेर्पाले बताए ।
अहिले विदेशी पर्यटकका लागि मात्र नभई आन्तरिक पर्यटकका लागिसमेत रक क्लाइम्बिङ रोजाइको विषय बनेको छ । रक क्लाइम्बिङ हिमाल चढ्न र माउन्टेन गाइड बन्न अनिवार्य भएको रक क्लाइम्बिङ तालिम लिइरहेका प्रशिक्षार्थी बताउँछन् । नेपालको माउन्टेन गाइडदेखि अन्तराष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स लिन पनि यसले सहयोग गर्ने उनीहरू बताउँछन् ।
पछिल्लो समय पर्वतारोहण पथ प्रदर्शकले समेत अनिवार्य रक क्लाइम्बिङ गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, पर्वतारोहण क्षेत्रमा जानेका लागि पहिलो अभ्यास नै रक क्लाइम्बिङ हुन आउँछ ।
अन्य विकसित मुलुकमा प्राकृतिक रूपमा रक नहुँदा कृत्रिम वाल निर्माण गरिन्छ । तर, वालमा अभ्यास गर्दा प्राकृतिक रकमा जस्तो रमाइलो नहुने भएकाले नेपालमै आएर पर्यटकहरू रक क्लाइम्बिङ गर्न रुचाउँने गरेका छन् ।
त्यसैले नेपाललाई रक क्लाइम्बिङको हब हुन सक्ने सम्भावना छ । तिनै तहका सरकारले समन्वय गरेर यस क्षेत्रमा साहसिक खेलकुद गतिविधि सञ्चालन गरी पर्यटक भित्राउन सके यसले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने देखिन्छ ।














