
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । आज (बिहीबार) बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल नेतृत्वको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
रास्वपाको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ विमान खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको बताए । थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने उनले बताए ।















