धनकुटा । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग संकल्प यात्राको क्रममा बिहीबार धनकुटाको लेगुवा र सिधुवाको कार्यक्रमलाई अवरोध गर्न खोजेको भन्दै १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न लाइनमा बसेर अभद्र व्यवहार गर्न खोज्ने लेगुवाका स्थानीय महेश राईसहित कोलोझण्डा देखाउने पहिचानवादीहरुलाई नियन्त्रणमा लिएको धनकुटा जिल्ला प्रहरीका डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा धनकुटा जिल्ला कियाचु अध्यक्ष कमलसिं लिम्बू, यायोखा जिल्ला अध्यक्ष उद्धवमणी राई, किरात राई यायोखा पाख्रीबास नगर अध्यक्ष जितेन्द्र मामपाङ्ग, प्रदेश नं.१ पुनःनामांकन संघर्ष समिति संखुवासभाका संयोजक बिरेन्द्र छारा राई, यायोखा संखुवासभा जिल्ला सचिव उमाकुमारी राई, पनिल कुलुङ, करविर कुलुङ, जुद्ध राई र सोकुल राई रहेका छन् । उनीहहरु लेगुवाबाट पक्राउ परेका हुन् ।

त्यस्तै, धनकुटाको सिधुवाबाट पक्राउ पर्नेमा तेह्रथुम जिल्लाका पहिचानवादीहरु सूर्य मादेन, शंकर खेवा, नगेन साँवा, उदयदीप सम्बाहाम्फे, बोद्धराज लिम्वू, फौद्ध तुम्खेवा, दीपक लिम्बू, रुपेश लिम्बू, योगेन्द्र साँवा लिम्बू लगायतका गरी १९ जनालाई पक्राउ गरिएको डिएसपी महर्जनले बताए । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ ।















