Logo
Logo

एक सय ९२ को विभूषण रद्द गर्ने तयारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ फागुन ।
सरकारले दिएका विभूषण लिन नआउनेहरूको रद्द गर्ने तयारी गरेको छ । दुई साताअघि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिलाई जानकारी गराएको छ । जानकारी गराउँदा पनि कोही लिन नआएमा रद्द गर्ने सरकारको तयारी छ । गत २३ माघमा गृहले यससम्बन्धी सूचना नै निकालेको छ । एकपटक जानकारी दिँदा पनि लिन नआए रद्द गरिने गृह मन्त्रालयका उपसचिव भूपेन्द्र थापाले बताए । विभूषणमा सुनसमेत प्रयोग हुने भएकाले त्यसमा हरेक वर्ष राज्यको करोडौँ खर्च हुने गरेको छ ।

कतिपयले ०६७ सालदेखिकै विभूषणसमेत लिएका छैनन् । ०६७ सालमा ६९ जनाले विभूषण लिएका छैनन् । पूर्वसभामुख दमननाथ ढुंगाना, मानवअधिकारवादी पद्मरत्न तुलाधर, संगीतकार अम्बर गुरुङ, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वप्रमुख निर्वाचन आयुक्त वीरेन्द्र मिश्र, वरिष्ठ अधिवक्ता शम्भु थापा, मानवअधिकारकर्मी सुबोध प्याकुरेल, प्राध्यापक, पुष्पराज शर्मा, तत्कालीन प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीलगायतले विभूषण लिएका छैनन् ।

०६९ सालमा सरकारले दिने निर्णय गरेकामध्ये रामेश श्रेष्ठ, सिके लाललगायतले लिएका छैनन् । ०७० सालको विभूषण नलिनेमा तत्कालीन न्यायाधीश रामकुमार साह, संयुक्त राष्ट्रसंघका तत्कालीन उपमहासचिव ज्ञानचन्द्र आचार्य, प्राध्यापक प्रा.डा. बालकृष्ण पोखरेललगायत छन् । विभूषण नलिनेमा कलाकार तथा खेलाडीको संख्या ठूलो छ । कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रेखा थापा, सीताराम कट्टेल, कुञ्जना घिमिरे, गायक पशुपति शर्माले विभूषण लिएका छैनन् ।

खेलाडीहरू सन्दीप लामिछाने, शक्ति गौचन, क्रिकेट प्रशिक्षक जगत टमटा, मीरा राई, बिमला तामाङ, निता घर्तीमगर, आङ्बाबु लामा, विनिता महर्जन, दीपक विष्ट, आयशा शाक्य, गंगा अधिकारी, विनोद शाक्य, सुनील लामा छन् । त्यस्तै, पारस खड्का, नेरी थापा, शैलेश राणा, सविता चौधरी, विश्वरूपा बुढा, विमल घर्तीमगर, रमिला तण्डुकार, दाक्छिरी शेर्पा, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले पनि विभूषण लिएका छैनन् । पत्रकार, समाजसेवी तथा केही व्यवसायीले पनि लिएका छैनन् । राष्ट्रकवि माधव घिमिरेलाई सरकारले गत वर्ष महाउज्वलदीप दिने निर्णय गरेकोमा उनी पनि लिन गएका छैनन् । यस्तो विभूषण नलिनेमा सैनिकलगायत केही सरकारी कर्मचारीसमेत छन् ।
विभूषणको ओज घटेपछि धेरैले नलिएका हुन् । वास्तविक मूल्याङकनभन्दा चलखेलका आधारमा विभूषण दिने प्रवृत्ती बढेपछि यस्तो भएको हो । यो वर्ष सरकारले दुई सयलाई मात्र विभूषण दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्