
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी रणनीतिबारे बृहत छलफल गरेको छ ।
आइतबारदेखि काठमाडौंमा जारी पार्टी केन्द्रीय समितिको बैठकमा उसले आगामी रणनीतिबारे छलफल गरेको उपाध्यक्ष विक्रम पाण्डेले बताए ।
पाण्डेका अनुसार उक्त छलफलले आज (सोमबार) पनि निरन्तरता पाउने छ । छलफलमा राप्रपाले समसामयिक राजनीतिक घटनाक्रम, आगामी रणनीति र भावी कार्यदिशाबारे निर्णय गर्ने पार्टी प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
‘आइतबार बसेको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, आगामी रणनीति र कार्यदिशाबारे छलफल गरेका थियौँ,’ उनले भने, ‘यस विषयमा केन्द्रीय सदस्यहरूले क्रमशः ब्रिफिङ् गर्नुभएको थियो, यसले आज पनि निरन्तरता पाउनेछ भने हामी सदनमा दबाब र सडकमा बृहत आन्दोलन गर्ने तयारीमा छौँ, यद्यपि यसबारे आज निर्णय हुनसक्छ । किनकि सबै सदस्यहरूले यस विषयमा धारणा राखिसक्नु भएको छैन, हिजो धारणा राख्ने अधिकांश सदस्यले सदन र सडकबाट सरकारलाई दबाब दिने नै भन्ने छ ।’
त्यस्तै पार्टीका महामन्त्री धवल शमशेर राणाले राप्रपा सशक्त प्रतिपक्षीको भूमिकामा रहने प्रष्ट पारे । उनले प्रदेश र संघीय सरकारमा उप्रान्त संलग्न नहुने समेत बताए ।
उनले भने, ‘हामीलाई सत्ताको मोह छैन, हामी संघीय लोकतान्त्रिक गणतन्त्रको खिलापमा छौँ । हाम्रो बटम लाइन सनातन हिन्दुराष्ट्रसहितको राजतन्त्र हो, यसबाट हामी रत्तिभर डगमगाएका छैनौँ । यसबारे सजग बनाउन हामी जनतामाझ पुग्दैछौँ, उनीहरूसँग पुग्ने माध्यम भनेकै अहिले सडक र सदन हो । यसकै माध्यमबाट हामी हाम्रो मुद्दा स्थापित गर्छौँ । यसका लागि हामी तत्काल सडकमा जादैछौँ ।’
हिजोको बैठकमा पार्टी अध्यक्ष लिङ्देनले राप्रपा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने, सत्ता केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चहाना र देशको अवस्थालाई ध्यानमा राखेर सडक संघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति रहेको बताए ।
बैठकमा लिङ्देनले देशमा पुँजी निर्माण हुन नसकेको, सत्ता र प्रतिपक्षी भ्रष्टाचारमा संलग्न रहेको आरोपसमेत लगाए ।
‘देशको अन्यौलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्षसमेतको मिलेमतोमा भ्रष्टाचार मौलाएको छ । देश र जनताका लागि दुर्भाग्य हो । भ्रष्टाचार प्रकरणमा दलका नेताहरूको प्रत्यक्ष वा परोक्ष संलग्नता देखिनुले राजनीतिप्रति आममानिसको वितृष्णा पैदा गराएको छ,’ उनले भने, ‘तथापि हामी सरकारले गरेका राम्रा कामको पक्षमा उभिने छौँ भने नराम्रा कार्यका लागि खुलेर सदन र सडकबाट विरोध गर्नेछौँ, जसका लागि पनि आन्दोलन आजको आवश्यकता हो ।’
हिजोको बैठकमा महामन्त्री धवल शमशेर राणाले बृहत् आन्दोलनसम्बन्धि कार्ययोजना पेश गरेका थिए भने कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले सचिवालयसम्बन्धि प्रतिवेदन पेश गरेका थिए ।
त्यसैगरी उक्त बैठकमा प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको प्रतिवेदन पेश गरेका छन् ।
राप्रपाको बैठक हिजोदेखि संघीय राजधानी काठमाडौंमा जारी छ ।














