
काठमाडौं । शनिवार नेकपा एमालेले पाँचथरको फिदिममा आयोजना गरेको सभामा सहभागी भएर फर्कने क्रममा दुर्घटनामा ज्यान गुमाएका प्रेम संग्रौलाको शव परिवारले जिम्मा लिन अस्वीकार गरेका छन् ।
संग्रौलाको मृत्यु भएपछि एमालेले घटना लुकाउन खोजेको थियो । हिलिङहाङ गाउँपालिकाका पार्टी पिएम रहेका संग्रौलाको मृत्युबारे अहिलेसम्म एमालेले आधिकारिक रुपमा केही बोलेको छैन ।
पार्टीले आफ्नै आर्यकर्ताको मृत्युको घटना लुकाउन खोजेको र बेवास्ता गरेको भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेका हुन् । परिवारले शव बुझ्न नमानेका कारण प्रेमको शव अहिले पनि पाँचथर जिल्ला अस्पतालमै राखिएको छ ।
परिवारले एमालेसँग मृतक प्रेमको बालबच्चालाई पठनपाठनका लागि पार्टीले व्यवस्था गर्नुपर्ने माग गरेका छन् । तर, एमालेका स्थानीय नेताले यस विषयमा चासो दिएका छैनन् ।
सोमबार बिहान मृतकका परिवारले एमालेका स्थानीय नेताहरूसँग आफ्नो माग राखेका थिए । तर, उनीहरूले अहिलेकै अवस्थामा केही गर्न नसकिने बताएपछि परिवार थप आक्रोशित भएका छन् ।
पार्टीले केही नगर्ने भनेपछि मृतक प्रेमका परिवारले प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।
मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा एमालेले शनिवार फिदिममा सभा आयोजना गरेको थियो । उक्त सभामा हिलिहाङ गाउँपालिकाबाट संग्रौला सहभागी भएका थिए ।
सभा सकेर फर्कने क्रममा फिदिम नगरपालिकाकै शान्तिपुर भन्ने ठाउँमा गाडी दुर्घटना हुँदा प्रेमको मृत्यु भएको थियो ।














