काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र संकल्प जरुरी भएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको सोमबार आयोजित ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति दाहालले ‘भूमण्डलीकृत विश्वको दवाब तत्कालका निम्ति हाम्रा लागि काबु बाहिर देखिएकाले विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ र विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो भन्ने प्रश्नमा समीक्षा आवश्यक भएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचउडले भने, ‘विश्वविद्यालयमा क्रियाशील प्राज्ञहरूको भूमिका किन ओजपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ ?’
उनले विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहँुदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेको भएपनि आफैँ राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेको बताए ।
उनले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्ने र सर्वसुलभ रुपमा उच्च शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्नेमा जोड दिए । संख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा दिन विश्वविद्यालयको नेतृत्वलाई आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि अभिभावकत्व र सहयोगका निम्ति नेपाल सरकार सधैँ तत्पर रहेको स्मरण गराए ।
उनले दीक्षित हुने विद्यार्थीले आर्जन गरेको शिक्षा, ज्ञान र सीप समाजका लागि अझ धेरै उपयोगी बन्ने विश्वास व्यक्त गर्दै आफूलाई सचेत र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्य जिम्मेवार रुपमा पूरा गर्ने सफलताका लागि दीक्षित विद्यार्थीलाई शुभकामना दिए ।
प्रधानमन्त्री प्रचण्डले एक वर्षको अनवरत मेहनत र क्रियाशीलताको परिणाम आज अर्थतन्त्रका अधिकांश सूचकहरूमा सुधार हुँदै गएपनि अपेक्षाकृत परिणाम हासिल गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति रहेकाले सरकारको इमान्दार प्रयासमा बौद्धिक युवा जनसमुदायको रचनात्मक साथ, सहयोग र ऐक्यबद्धता रहने विश्वास पनि व्यक्त गरे ।














