Logo
Logo

भन्सार विभाग घेराउ गर्न पुगेका आजपाका कार्यकर्तामाथि लाठीचार्ज


441
Shares

काठमाडौं । भन्सार विभाग घेराउ गर्न पुगेका आम जनता पार्टी (आजपा)को आम सम्पर्क मञ्चसम्बद्ध नेता कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ । 

भन्सार विभागको मूल गेटसम्म समेत पुग्न नदिई प्रहरीले अवरोध गरेपछि दुई पक्षीय झडपको अवस्था बनेको हो । सो क्रममा सुरुमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो भने पछि लाठीचार्ज भएको हो । प्रहरीको लाठीचार्जबाट दुई जना आन्दोलनकारी घाइते  भएका छन् । 

आफूहरूको शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रममा प्रहरीले अवरोध गर्न खोजेपछि झडपको अवस्था आएको हो । भन्सार विभागको मूल गेटसम्म पुग्न नदिई धर्ना कार्यक्रममा अवरोध गर्न खोजेपछि आन्दोलनकारी आक्रोशित बनेका थिए । शान्तिपूर्ण धर्नामा अवरोध गरेपछि प्रहरीका विरुद्धमा उनीहरूले नारा समेत लगाए । 

आजपा केन्द्रीय सदस्य एवं भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले प्रहरीले आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न खोजेको आरोप लगाए । प्रहरीको लाठीचार्जबाट रञ्जुकुमार साह, शारदा साह घाईते भएका छन् । प्रहरीको लाठीचार्जले रञ्जुको खुट्टा, घाँटी र शारदाको नाक, हातमा चोट लागेको छ । 

आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहले आफूहरूको शान्तिपूर्ण आन्दोलन निरन्तर जारी रहने बताए । प्रहरीले शान्तिपूर्ण आन्दोलनमा अवरोध गर्न खोजेपछि आजको कार्यक्रममा झडपको अवस्था आएको बताउँदै उनले प्रहरीको लाठीचार्जबाट आन्दोलनकारी घाईते भएको बताए । 

आफूहरूको चरणबद्ध आन्दोलन जारी नै रहेको भए पनि सरकारले माग सम्बोधनमा ढिलाई गरेको प्रति समितिका संयोजक साहले दुख व्यक्त गरेकी छन् । सरकारले आफूहरूको माग सम्बोधन गरेसम्म शान्तिपूर्ण आन्दोलन अगाडि बढीरहने उनले बताए ।

भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध बिभिन्न माग गर्दै भन्सार विभाग कार्यालयमा धर्ना तथा घेराउ हुँदै आएको छ । कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति, सवारीसाधन एवं सम्पत्ति जफत गर्ने प्रावधान हटाउनुपर्ने माग आन्दोलनकारीको छ । 

यसैगरी भन्सारबाट उठेको राजश्व रकमबाट २५ प्रतिशत रकम सम्बन्धित प्रदेशलाई र २० प्रतिशत रकम सम्बन्धित पालिकालाई दिने ब्यवस्था गर्नुपर्ने, घरायसी प्रयोजनको लागि ल्याइने बस्तुमा भन्सार कर लगाउँने व्यवस्थाको अन्त्य हुनुपर्ने माग उनीहरूले गरेका छन् । 

आजपा प्रवक्ता चन्द्रभुषण साहले आफूहरूको माग सम्बोधनमा ढिलाई भए यो भन्दा कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । 

आजपाले गत ३१ भदौमा भन्सार विभागका महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर शुरु गरेको सङ्घर्षको पहिलो चरण अन्तर्रगत गत ३ असोजमा पत्रकार सम्मेलन, १८ असोजमा नियमावलीको गलत प्रावधान जलाईंएको, १९ असोजमा तराई – मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरेको थियो ।

तर सरकारले आफ्नो मागको कुनै सुनवाई नगरेपछि बाध्य भएर पुनः थप सङ्घर्षको कार्यक्रम अगाडि बढाउनुपरेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्