मोरङ । पहिचानवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रममा कोशी प्रदेश सांसद र प्रदेश मन्त्रीहरू सहभागी नगराउन आग्रह गरेको छ ।
भोलि (शुक्रबार) मोरङको मिक्लाजुङमा प्रधानमन्त्री प्रचण्ड आउने जानकारी प्राप्त भएको भन्दै पहिचानवादीले सो आग्रह गरेको हो । साथै, उनीहरूले कार्यक्रमको ब्यानरमा ‘कोशी’ नलेखिदिन आग्रह पनि गरेको छ ।

प्रधानमन्त्री l सहभागी हुने कार्यक्रमको ब्यानरमा ‘कोशी’ लेखे र प्रदेश सांसद तथा मन्त्रीहरूलाई सहभागी गराए कालोझन्डा देखाउनुको साथै विरोध गर्ने प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति मोरङले जनाएको छ ।
माओवादी केन्द्रले आफ्नो आग्रह माने विरोध प्रदर्शन नगर्ने समितिले जनाएको छ । समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘माओवादी केन्द्रले हाम्रो आग्रह स्वीकार गरेमा प्रधानमन्त्री प्रचण्ड आउने कार्यक्रममा विरोध प्रदर्शन हुने छैन ।’
पहिचानवादीले प्रदेशको नामकरणको विषयलाई लिएर १० महिनादेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । गत फागुन १७ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले प्रदेश–१ को नामकरण गरी कोशी प्रदेश राखेको थियो । उक्त नामप्रति असन्तुष्ट जनाउँदै पहिचानवादीले त्यसको भोलिपल्टबाटै आन्दोलन गर्दै आएको छ ।
उनीहरूले विभिन्न पार्टीका नेतालाई कालोझन्डा देखाउँदै आएका छन् । भरखरै सम्पन्न नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’ मा पनि पहिचानवादीले ठाउँठाउँमा अवरोध गरेको थियो ।
भोजपुर र धनकुटाको दोभान लेगुवामा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास समेत भएको थियो ।














