Logo
Logo

कांग्रेसको फेरो काम लागेन, गंगालालबाट रामेश बाहिरिँदै


5.6k
Shares

काठमाडौं । शहीद गंगालाल हृदयरोग केन्द्रको नयाँ कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढेको छ । सँगै, सोही अस्पतालका शल्य चिकित्सक डा. रामेश कोइराला राजीनामा दिने पक्षमा पुगेका छन् ।

कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको कार्यकाल पूरा भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ नियुक्ति प्रक्रिया अघि बढाएसँगै कार्यकारी निर्देशक बन्ने दौडमा रहेका कोइराला जागिरबाटै बाहिरिने अवस्थामा पुगेका छन् । 

कोइराला पछिल्लो समय आफूलाई कार्यकारी निर्देशक नियुक्त गर्न माग गर्दै नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माकहाँ पुग्ने गरेका थिए । तर, थापा र शर्माबाट त्यो काम नहुने भएपछि कोइराला उनीहरूलाई गाली गर्दै बाहिरिने पक्षमा पुगेका हुन् ।

स्रोतका अनुसार कोइरालाले महामन्त्री द्वय थापा र शर्मासँग गंगालालाई नेतृत्व गर्न सक्ने क्षमता र नेतृत्व आफूसँगमा मात्र रहेको भन्दै दाबी प्रस्तुत गर्ने गरेका थिए । तर, थापा, शर्मा र राणा मात्रै नभएर सिंगो कांग्रेस नै कोइरालालाई कार्यकारी निर्देशक नियुक्त गर्ने पक्षमा छैनन् ।

हाल, स्वास्थ्य मन्त्रालय कांग्रेसले नेतृत्व गरिरहेको छ । मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री छन् । त्यसैले कोइरालाले कार्यकारी निर्देशक बन्न कांग्रेसको फेरो समातेका हुन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवाका पत्नी तथा कांग्रेस नेता आरजु देउवा राणाका कारण आफू कार्यकारी निर्देशक नबन्ने अवस्था बनेको कोइरालाले ट्विटरमार्फत संकेत गरेका छन् । कांग्रेसमा आरजुलाई भाउजू भन्ने गरिएको छ ।

कोइरालाले ट्विटरमा लेखेका छन्– ‘देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्ने म मन नपरिकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दै छु । मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै सरी गंगालाल र धन्यवाद भाउजू ! जय नेपाल !’

नयाँ कार्यकारी निर्देशकमा मुटु रोग विशेषज्ञ डा. रवि मल्ल र डा. अरुण मास्के मुख्य प्रतिस्पर्धी हुन् । तर, मन्त्री बस्नेत डा. मल्ललाई नै कार्यकारी निर्देशक नियुक्त गर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्