काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले जनतासँग माओवादी रूपान्तरण सशक्त ढंगले अघि बढिरहेको बताएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण कार्यक्रमअन्तर्गत शनिवार बुढानीलकण्ठ नगरस्तरीय भेलालाई सम्बोधन गर्दै नेता शर्माले यो अभियानबाट जनतासँगको एकता र सहकार्यलाई निरन्तरता दिँदै पार्टी अघि बढिरहेको बताएका हुन ।
नेता शर्माले देशमा संघीयता, समावेशी, समानुपातिक प्रणालीको एजेन्डा माओवादीले अघि बढाएर त्यसमा सफलता पाएपनि त्यसको स्वामित्व लिन माओवादी पछि परिरहेको उल्लेख गरे । उनले किसान र सबै क्षेत्रमा काम गर्ने जनतामाझ माओवादीका नेताहरु पुगेर त्यहाँका समस्या समाधानका लागि अग्रसर हुन आग्रह भइरहेको बताए ।

‘हामीले ठुलो त्याग र बलिदानबाट रोपेको संघीय गणतन्त्रको बिउबाट माओवादी आन्दोलनबाट जुन भूमिका निर्वाह भएको थियो, त्यो आन्दोलनलाई आज विकास गर्नुपर्ने आवश्यकता छ’ नेता शर्माले भने, ‘हिजो रोपेको खेतीमा पर्याप्त समय दिन नसक्दा जनतामा देखिएको असन्तुष्टि माओवादी रुपान्तरण अभियानबाट मलजल गर्नुपर्छ भन्ने जनताको दृष्टिकोण छ ।’
उनले जनताले सुकुम्बासी अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न, रोजगारीको वातावरण बनाउन आग्रह गरेको बताउँदै सरकारले त्यसका लागि काम गर्ने आफूले विश्वास गरेको बताए ।














