काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको आइतबारको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ ।
काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको मुद्दामा आज दुईजना सरकारी वकिल र पीडितको तर्फबाट एकजनाले बहस गरेका थिए । यद्यपि, समय अभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

अब यो मुद्दाको सुनुवाइ बुधबार यही इजलासमा हुनेछ। सोमबार र मंगलबार लगातार बिदा परेकाले अब बुधबार बहस हुनेछ।
आजको मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको थियो । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । तर, अहिलेसम्म फैसला हुन सकेको छैन ।
नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा २०७९ साल कात्तिक १४ मा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो ।














