Logo
Logo

शालिमार, रिलाइन्स, एमजेप्पी सिमेन्ट र असोक स्टिललाई कारबाही


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ फागुन । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डअनुसार नभएका तीन सिमेन्ट र एउटा स्टिल उद्योगलाई कारबाही गरेको छ ।
विभागले नेपाल शालिमार सिमेन्ट, रिलाइन्स सुपरटेक सिमेन्ट, एमजेप्पी सिमेन्ट र असोक स्टिल उद्योगलाई कारबाही गरेको हो । अनुगमन गर्न संकलित नमुनाको गुणस्तर परीक्षणमा मापदण्डअनुसार नपाइएकाले कारबाही गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
ती उद्योगलाई नेपाल ऐन २०३७ तथा नियमावली २०४० को नियम १६ अनुसारको कानुनी कारबाही विभागले जनाएको छ । महानिर्देशक पुडासैनीका अनुसार नेपाल शालिमार सिमेन्ट उद्योग र रिलाइस सुपरटेक सिमेन्ट उद्योगको मापदण्डअनुसार गुणस्तर नपाएपछि इजाजतपत्र स्थगन गरिएको छ ।
त्यस्तै, एमजेप्पी सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर नियमावली २०४० को नियम (१६)अनुसार स्पष्टीकरण सोधिएको छ भने अशोक स्टिलको संकलित नमुनाको परीक्षण गर्दा गुणस्तर नपाएपछि इजाजतपत्रसमेत रद्द गरिएको छ ।
विभागका निर्देशक किशु मानन्धरका अनुसार बारामा रहेको नेपाल शालिमार सिमेन्टको संकलित नमुनाको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्ज्थ १५ एमपीए र नेपाल गुणस्तर ३८५ अनु्रूप नभएपछि शालिमारको इजाजतपत्र रद्द गरिएको छ ।
बारामै रहेको रिलाइस सुपरटेक सिमेन्टको पनि नेपाल गुणस्तरअनुरूप नभएपछि इजाजतपत्र रद्द गरिएको छ । कपिलवस्तुमा रहेको एमजेप्पी सिमेन्टलाई भने नेपाल गुणस्तर ३८५ अनुरुप नपाइएकाले विभागले स्पष्टीकरण सोधिएको जनाएको छ । संकलित नमुनाको इलोगेसन र बेन्ड टेस्ट नेपाल गुणस्तर १९१ अनुरूप नभएकाले बाराको अशोक स्टिलको पनि इजाजतपत्र रद्द गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्