काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकासमा सरकारले जोड दिने प्रतिबद्धता जनाएका छन् ।
सरकार एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सुविधासम्पन्न खेल मैदान बिना नै नेपाली क्रिकेट खेलाडीहरूले विश्वकपको यात्रा तय गरेको स्मरण गरे ।

उनले भने, ‘विश्वकपको तयारीमा कुनै कसर बाँकी राखिने छैन । यो सफलतासँगै अब देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको छ । त्यसका लागि हामीले पूर्वाधारमा ध्यान केन्द्रित गरेका छौं ।’
कीर्तिपुर रंगशालालाई पीपीपी मोडलमा विस्तार गरिने र मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको जानकारी दिँदै प्रधानमन्त्रीले चितवनको गौतम बुद्ध क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा तीन तहकै सरकारको समन्वयमा बन्ने बताए ।














