Logo
Logo

सञ्चारमाध्यमले गर्ने आलोचना र खबरदारी सकारात्मक : सञ्चारमन्त्री


189
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले गर्ने स्वस्थ आलोचना र खबरदारी सकारात्मक रहेको बताएका छन् ।

साउथ एसिया नेटवर्क टिभीले आज यहाँ आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया सम्मेलनको उद्घाट्न गर्दै उनले सञ्चारमाध्यमले गर्ने खबरदारीले सरकारलगायत राजनीतिक शक्तिलाई गलत बाटोमा जानबाट रोक्ने धारणा राखे ।

मन्त्री शर्माले सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल एजेण्डा बनाएर अघि बढेको बताए । यसलाई कार्यान्वयन गर्ने सवालमा कमीकमजोरी भएमा सञ्चारमाध्यम तथा पत्रकारले स्वस्थ आलोचना तथा खबरदारी गर्नु सकारात्मक रहेको उनको भनाइ थियो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक अधिकार पनि पूर्ण नहुने भएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको राजनीतिक अधिकार नेपालमा स्थापित भएको मन्त्री शर्माले बताए । उनले भने, ‘विगतमा हामीले प्राप्त गरेका सफलतामा सञ्चारमाध्यमको ठूलो सहयोग र समर्थन रहँदै आएको छ ।’

सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध सुरु भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध भने सयौँ वर्षअघिदेखिको भएको मन्त्री शर्माले बताए ।

‘यस क्षेत्रको मानव सभ्यताको विकाससँगै नेपाल र चीनबीचको सुमधुर सम्बन्ध रहँदै आएको पाइन्छ । भृकुटी, अरनिकोजस्ता विभूतिले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने काम गरेका छन्’, उनले भने ।

सदियौँदेखिको नेपाल र चीनबीचको सम्बन्ध अझ बढी प्रगाढरुपमा अघि बढिरहेको मन्त्री शर्माको भनाइ थियो । आपसी सम्बन्धलाई प्रगाढ बनाउन दुबै देशबाट उच्चस्तरीय भ्रमण पनि हुँदैआएका उनले बताए ।

पछिल्लो समय विश्वभरि देखिएको आर्थिक सङ्कुुचनको असर सञ्चारमाध्यममा पनि परेको उल्लेख गर्दै मन्त्री शर्माले सामाजिक सञ्जालको बढ्दो प्रयोगले निम्त्याएका चुनौतीको सामना गर्नु साझा सरोकार भएको बताए ।

उनले भने, ‘नेपालमा यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानुन निर्माणको प्रक्रिया थालनी गरिएको छ । सूचना प्रविधिका पछिल्ला आविष्कार प्रयोग गर्दै सबैखाले सञ्चारमाध्यमलाई डिजिटल प्लेटफर्ममा लैजानु अनिवार्य नै भइसकेको छ ।’

सरकार–सरकार र जनता–जनताबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन दुवै देशका सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि यस्ता सम्मेलन फलदायी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्