Logo
Logo

महासंघको बरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा चन्द्रप्रसाद ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी ढकालले आसन्न महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
वर्तमान उपाध्यक्ष ढकालले आगामी चैतमा हुने ५४औँ वार्षिक साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आफू सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘कुनैपनि संस्था वा संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्वाहक बन्नु हो’ कार्यक्रममा बोल्दै ढकालले भने, ‘मैले पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले महासंघको उँचो मनोबल रहनेगरी काममा लाग्ने बताउँदै राज्य र निजी क्षेत्रबीच सहकार्यले मात्र देशमा समृद्धि ल्याउन सहयोग पुग्ने बताए ।
उनले निजी क्षेत्रका समस्या समाधान गर्न, महासंघ र महासंघको सचिवालयलाई अझ बलियो र सबल बनाउन आफू अब आउने अध्यक्षसँग काँधमाकाँध मिलाएर अगाडि बढ्ने बताए ।


ढकालले भने, ‘महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । जिल्ला नगर तथा वस्तुगत उद्योग वाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको विषय हो ।’
बागलुङको अमलाचौरमा जन्मिएका व्यवसायी ढकाल हाल महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति रहेका छन् । यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भइसकेका ढकाल आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रर्वद्धक हुन् ।
कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका उनको जलविद्युत, पर्यटन, सूचनाप्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकारलगायतका दुई दर्जनभन्दा बढी व्यवसायमा लगानी छ । साथै, नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्