
काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त महाशाखाका अनुसार तराईका स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज (आइतबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।














