
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका रुपमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । त्यसै पनि कमजोर धरातलमा सरकारको नेतृत्व गरिरहेका प्रचण्डलाई आफ्नै मन्त्रीका कारण पनि हैरान छ ।
प्रचण्ड सरकारमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री छन् । उनै गृहमन्त्री श्रेष्ठका कारण प्रधानमन्त्री प्रचण्डलाई हैरान छ । गृहमन्त्री श्रेष्ठले कहिले सत्तारुढ दल कांग्रेससँग सम्बन्ध बिगारेका कारण हैरान पारेका छन् त कहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको सम्बन्धका कारण प्रधानमन्त्रीलाई हैरान छ ।
मन्त्री भएदेखि नै गृहमन्त्री श्रेष्ठ प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीसँग अति निकट रहँदै आएका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्षका हैसियतमा हर कुराको रिपोर्टिङ प्रचण्डलाई गर्नुपर्ने हो । तर, श्रेष्ठ भने हरेक हप्ता जसो ओली निवास वालकोट पुग्ने गरेका छन् । र, सरकारका हरेक गतिविधिको रिपोर्टिङ ओलीलाई गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
त्यति मात्र होइन, गृहमन्त्री श्रेष्ठले हरेक काम गर्नुअघि ओलीसँग सल्लाह लिने गरेको समेत आरोप लाग्ने गरेको छ । ओलीसँग निकट सम्बन्धमा रहेका श्रेष्ठले ओलीकै सिफारिसमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख खटाउने गरेको माओवादी भित्रै चर्चा चल्ने गरेको छ ।
पछिल्लो पटक गृहमन्त्री श्रेष्ठले जिल्लाका नेता कार्यकर्ताको माग विपरीत भक्तपुर र झापामा सिडिओ र प्रहरी प्रमुख खटाएका थिए । अन्य जिल्लाहरूमा त्यसरी नै ओलीको सिफारिसमा श्रेष्ठले कर्मचारी र प्रहरी खटाउने गरेको माओवादी नेताहरू नै बताउँछन् ।
जिल्लामा आफू अनुकूलको सिडिओ र प्रहरी प्रमुख लैजान चाहने माओवादीकै ठूला नेताहरू पनि गृहमन्त्री श्रेष्ठसँग रुष्ट छन् । एक नेताले भने– ‘हाम्रै पार्टीका वरिष्ठ उपाध्यक्ष गृहमन्त्री हुनुहुन्छ । तर, हामीले गरेको सिफारिस कुनै पनि कार्यान्वयन गर्नु भएको छैन । उहाँले एमालेसँग निकटलाई नै खटाउँदै आउनु भएको छ ।’
त्यसो त गृहमन्त्रीले पार्टीका नेताहरूको मात्र कुरा नसुन्ने गरेका होइनन् । प्रधानमन्त्री प्रचण्डकै कुरा सुन्न छोडेका छन् । आफूलाई बाइपास गर्न थालेपछि प्रधानमन्त्री पनि गृहमन्त्रीसँग रुष्ट रहेको बालुवाटार स्रोतले बताएको छ ।
आफूले भनेको सुन्न छोडेपछि प्रधानमन्त्री प्रचण्ड पनि गृहमन्त्री फेर्ने निर्णयमा पुगेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन लगत्तै मन्त्रीहरूको सेटै फेरेर भए पनि गृहमन्त्रीलाई हटाउने प्रधानमन्त्रीको तयारी रहेको छ ।














