
काठमाडौं । गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई युवाको ज्यान गयो ।
कोरिया जानका लागि उत्पादन क्षेत्रको भाषा परीक्षामा सामेल हुन पाउनुपर्ने भन्दै सिप बिल्डिङ परीक्षामा असफल भएका युवाहरुले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर अछामका सुजन रावत र दैलेखका विरेन्द्र शाहले ज्यान गुमाए ।
यस घटनालाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको चौतर्फी आलोचना भइरहेको छ । यतिमात्र होइन उनीहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ ।
सोमबार बिहान बसेको प्रतिनिधिसभा अन्तर्गत राज्य सुशासन समितिको बैठकमा अधिकांश सांसदहरुले मन्त्री श्रेष्ठको राजीनामा माग गरे । नेकपा एमालेका सांसद राजेन्द्र राई, कृष्ण गोपाल श्रेष्ठ, रघुजी पन्त लगायतले गृहमन्त्रालय सम्हाल्न नसकेको भन्दै उनको राजीनामा मागेका हुन् ।
‘मन्त्रीज्यू गृहमन्त्रालय चलाउन सक्नु भएन अब राजीनामा दिनुस्, युवालाई ताकीताकी गोली हान्ने ? ठाउको ठाउँ गोली हान्न मिल्छ ? मान्छे मार्न पाइन्छ ? मान्छे मार्न पाइँदैन’, उनले भने ।
उनले छानवीन समितिलाई निष्पक्ष ढंगले काम गर्न पनि गृहमन्त्रीको राजिनामा दिनुपर्ने बताएका थिए । ‘घटनाको छानबिनका लागि समिति पनि बन्यो तलका मान्छेलाई कारबाही पनि ग¥यो। अब यसो गरौँ मन्त्री ज्यू तपाई राजीनामा दिनुस् सबैभन्दा राम्रो कुरा तपाई राजीनामा दिनुस्’, सांसद राईले भने ।
आफुमाथि नैतिकताका आधारमा राजीनामा्को माग आइरहेका बेला गृहमन्त्री श्रेष्ठ भने दोष अरुलाई थुपारेर पन्छिन खोजेका छन् । उनले मन्त्री ज्वालाकै आवागमनका कारण बालकुमारी घटना भट्न पुगेको बताएका छन् । समितिको बैठकमा बोल्दै श्रेष्ठले मन्त्री ज्वाला नगएको भए स्थिति उग्र नबन्ने र दुई युवाले ज्यान गुमाउन नपर्ने बताएका हुन् ।
‘आन्दोलनबारे गृह मन्त्रालयमा जानकारी आइसकेपछि हामी कुनैपनि हालतमा इपीएसमा दुर्घटना नहोस् भन्ने पक्षमा थियौं । प्रारम्भिक निस्कर्ष के हो भने त्यो बाटोबाट त्यस्तो बेलामा मन्त्रीज्यु किन आउनुभयो होला ?,’ उनले प्रश्न गर्दै भने, ‘हाम्रो सुरक्षाकर्मीहरु आर्मीको बडिगार्ड, पिएसओ छ, त्यसका बाबजुद उहाँ त्यो बाटोबाट किन आउनुभयो ? यसले हामीलाई आश्चर्य लागेको छ । मन्त्री ज्वाला सोही बाटो भएर आउनुले नै घटना थप असामान्य बन्न पुगेको देखिन्छ ।’














