
काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका वीरेन्द्र शाह र सुजन रावतको शव स्काई ट्रक मार्फत सुर्खेत पठाउने तयारी भएको छ ।
पाटन अस्पतालमा पोस्टमार्टम गरिएलगत्तै दुवै जनाको शव नेपाली सेनाका स्काई ट्रक एन ए–०६४ मार्फत सुर्खेत लैजाने तयारी भएको हो । त्यसका लागि प्रहरीले उनीहरुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगेर नेपाली सेनालाई जिम्मा लगाएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी छ । पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर तथा कुटपिटबाट गम्भीर घाइते भएका दुवै जनाको अस्पतालमा मृत्यु भएको थियो । उनीहरुलाई सरकारले शहिद घोषणा गर्ने समेत निर्णय गरेको छ ।














