सुर्खेत । कर्णाली प्रदेश सरकारले दैलेखको महावु गाउँपालिका–६ निवासी सुजन रावतका आफन्तलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सुजनको परिवारलाई राहतबापत उक्त रकम दिने निर्णय गरेको मुख्यमन्त्री राजकुमार शर्माले जनाए । उनले भने, ‘आज बसेको बैठकले मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ ।’
यसैबीच उद्योग पर्यटन वन तथा वातावरणमन्त्री आज बिहान सुजनको शवमा श्रद्धाञ्जलि दिन सुर्खेत विमानस्थल पुगेका थिए ।














