काठमाडौं । सत्तारुढ पार्टी नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्न सक्ने सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता रद्दको माग गरेका छन् ।
सङ्घका संयोजक कृष्ण विकले विज्ञप्ति जारी गर्दै यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि नै खेलबाडसमेत भएको बताएका छन् ।

बिहीबार नेपाल–भारतका परराष्ट्रमन्त्री स्तरीय बैठकबाट भएको निर्णयहरूमध्ये नेपालको स्थानीय पालिकाहरूमा ‘उच्च प्रभावयुक्त सामुदायिक विकास योजना’कार्यक्रम अन्तर्गत सोझैँ भारत सरकारले २० करोड दिन सक्ने गरी भएको सम्झौताले स्वाभिमानी,देशभक्त र स्वाधीन युवा एवम् समस्त नागरिकको ध्यानाकर्षण भएको बताएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ– ‘भूगोल, जनसङ्ख्या र सामर्थ्यमा सानो हौंला तर स्वाधीनताको सवालमा हामी सधैँ स्वतन्त्र थियौँ र रहन चाहन्छौँ । तसर्थ उक्त सहयोगको नाममा आन्तरिक मामिलामा माथिको यो किसिमको हस्तक्षेप अस्वीकार्य त छदै छ के कारणले यो सरकार यस्तो सम्झौता गर्न बाध्य भयो जनता सामु छर्लङ्ग पार्न आग्रह गरेका छन् । साथै अविलम्ब यो सम्झौता रद्द गरी जनतासामु आत्म आलोचित बन्न नेपाल सरकारलाई सुझाव दिँदै स्वाभिमान र स्वाधीनता को पक्षमा उठ्ने राष्ट्रभक्ती आन्दोलनको युवासंघ नेपालले अगुवाइ गरी सडक वाटै सम्झौता बर्खास्त गराउने चेतावनी दिन चाहन्छौँ ।’














