Logo
Logo

बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि सडकमै


2.5k
Shares

काठमाडौं । सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । जिल्लाको बरहथवा नगरपालिका–६ को प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

तर, आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा साहको शव अझै पनि घटनास्थल (सडक)बाट उठाइएको छैन ।

शनिबार नै गृहमन्त्रालयले घटना छानविनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो भने मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो ।

शव व्यवस्थापनका विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा पीडित र प्रहरी प्रशासनका प्रतिनिधिबीच छलफल पनि भएको थियो । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहित जिल्लाका सुरक्षा अधिकारी समेतको सहभागितामा भएको छलफल विना निष्कर्ष सकिएको थियो ।

आज बिहान पुनः आन्दोलनरत पक्ष, मृतक परिवारका सदस्यसहित इलाका प्रशासन कार्यालय बरहथवामा छलफल हुँदैछ ।

मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नती तथा बरहथवाका मेयरको राजीनामा लगायतका माग राखेका छन् ।

पीडित पक्षका मागका विषयमा सहमति नजिक पुगेकाले आज बिहानको छलफल पछि शव व्यवस्थापन हुन सक्ने जिल्ला प्रही कार्यालय सर्लाहीका प्रमुख (एसपी) प्रविण धितालले बताए ।

प्रतिक्रिया दिनुहोस्