काठमाडौं, २० फागुन ।
नेपाल प्रहरीमा डिआईजीको दरबन्दी कटौतीको तयारीबारे छलफल सुरु भएको छ । प्रहरी समायोजन अघि नै डिआईजी दरबन्दी कटौती गर्ने प्रस्ताव गृहका अधिकारीको छ ।

हाल प्रहरीमा डिआईजीमा ३४ दरबन्दी छन् । त्यसमध्ये कतिपय दरबन्दी आवश्यक नभएको भन्दै गृहमन्त्रालयले कटौती प्रस्ताव गरेको हो । प्रहरी संघीयतामा गएपछि करिब एक दर्जन डिआईजीको दरबन्दी अनाबश्यक हुने भएकाले बढुवा अघि नै कटौती गर्न लागिएको हो । तर, यसरी एक्कासी कटौती गर्दा प्रहरी अधिकारीको करिअरमा असर पर्ने भन्दै प्रहरी महानिरीक्षकले मानेका छैनन् ।
हाल प्रहरीमा डिआईजीका २२ दरबन्दी रिक्त छन् । बढुवाका लागि एसएसपीहरु शक्तिकेन्द्र धाइरहेका बेला कटौतीको कुरा चलेपछि उनीहरु तनावमा छन् । सिनियर ब्याचबाटै १६ जना एसएसपीहरु प्रतिस्पर्धामा छन् ।











