Logo
Logo

‘अहिलेको सरकार जनताप्रति जवाफदेही छैन’


189
Shares

चितवन । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शक्तिकेन्द्र रिझाइरहेको आरोप लगाएका छन् ।

विद्युत व्यापार सम्झौता र भारतीय दूतावासलाई २० करोड सीधै खर्च गर्न दिने सम्झौता प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउन गरेको भक्तिभावको उदाहरण रहेको ज्ञवालीको आरोप छ ।

आइतबार प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले नेता ज्ञवालीले भने, ‘अहिलेको सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास छैन, त्यसैले सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभाव गर्ने काममा लागिपरेको छ । कुनै पनि देशले दूतावासमार्फत सीधै आयोजना छानेर रकम दिने काम गलत छ, यसले राष्ट्रिय हितलाई कमजोर मात्रै गर्दैन, अनावश्यक चलखेललाई समेत बढाउँछ ।’

भारतीय दूतावासमार्फत सिधै २० करोड रकम कुनै आयोजनामा लगानी गर्न पाउने र भारतसँग गरिएको विद्युत व्यापार सम्झौताका कतिपय बुँदा राष्ट्रलाई दीर्घकालीन असर गर्ने खालका भएको उनको भनाइ छ ।

भारतले नेपालमा पूर्वदेखि पश्चिमसम्मका नदीनालामा विद्युत निकाल्ने नाममा कब्जा गरेको बताउँदै ज्ञवालीले भने, ‘२५ वर्षदेखि भारतले पञ्चेश्वर होल्ड गरेर राखेको छ, त्यसको काम किन भएन भनेर सरकारले सोध्न सक्दैन, उल्टै हरेक पटक भारतलाई दुई÷तीन वटा खोला सुम्पिएर आउँछ यसले राम्रो सन्देश दिएको छैन ।’

भारतसँग गरिएको विद्युत व्यापार सम्झौतामा भारतीय लगानीकर्ताले उत्पादन गरेका आयोजनाको विद्युत मात्रै किन्ने बुँदाले हस्तक्षेपलाई थप प्रश्रय गरेको नेता ज्ञवालीको भनाइ छ ।

देशका विकास निर्माणका कामहरु ठप्प हुँदै गएकोप्रति एमालेले जनताका बीचमा जान आन्दोलन गर्ने तयारी गरेको बताए । उनले देशका ७ वटै प्रदेशबाट एमाले सरकारका विरुद्धमा जनतामा जाने बताए ।

प्रतिक्रिया दिनुहोस्