
ताप्लेजुङ । घुस लिई भ्रष्टाचार गरेको मुद्दामा मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरु महतलाई सजाय सुनाइएको छ । शुक्रबार विशेष अदालतले उनलाई ६ महिना कैद र डेढ लाख रुपैयाँ जरिवाना हुने सजाय तोकेको हो ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख महतलाई एक लाख ५० हजार रुपैयाँसहित ११ वैशाख २०७९ मा नियन्त्रणमा लिएको थियो ।
मालपोत प्रमुख रहेकी उनले जग्गा दाखिल गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम लिएको भेटिएको थियो । फक्ताङलुङ गाउँपालिका– ७ की एक सेवाग्राहीसँग उनले घुस मागिरहेको उजुरी अख्तियारमा परेको थियो । जसपछि अख्तियारले गत वर्ष २४ असारमा मुद्दा चलाएकोमा ठहर हुने फैसला भएको हो ।
महतले पक्राउ पर्नुभन्दा १० दिनअघि मात्र राष्ट्रपतिबाट विभूषण पाएकी थिइन् । उनलाई प्रबल जनसेवाश्री चतुर्थद्वारा १ वैशाख २०७९ मा विभूषित गरिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा उनलाई विभूषण प्रदान गरिएको हो ।
यस मुद्दामा सरकारी साक्षी रहे पनि प्रतिकूल बकपत्र गर्ने भावना महतले भने सफाई पाएकी छिन्। लेखालाई दोषी ठहर गरेको इजलासले नै भावनालाई सफाई दिएको हो । यी दुवै मुद्दा लगाउमा राखी सुनुवाई भइरहेका थिए ।
लेखाले घुसवापत लिएको रकम भावनालाई राख्न दिएकी थिइन् । उनले यहि कुरा अख्तियारलाई बताइकी थिइन् । जसकारण अख्तियारले उनलाई मतियारको रुपमा मुद्दा नचलाई सरकारी साक्षीका रुपमा पेस गरी सजाय छुट दिएको थियो ।














