
काठमाडौं । दुई खर्ब ८६ अर्ब रुपैयाँबराबरको क्रिप्टो करेन्सी तथा हुन्डी कारोबार गर्ने गिरोहका चारजना पुर्पक्षका लागि जेल चलान भएका छन् । पक्राउ परेकामध्ये एकजनालाई जिल्ला अदालत, काठमाडौंले आइतबार धरौटीमा छाड्ने आदेश गरेको छ ।
काठमाडौंको बागबजारका रूपेश श्रेष्ठ नेतृत्वको गिरोहका १७ जनाविरुद्ध सरकारी वकिल कार्यालय हुँदै प्रहरीले गत साता मुद्दा दायर गरेको थियो। जसमा पाँचजना पक्राउ परेका थिए ।
रूपेशसहित पक्राउ परेका आशिष अग्रवाल, मीनबहादुर जिसी र कुमार परियार जेल चलान भएका छन् । झनिन्द्रप्रसाद खतिवडालाई भने अदालतले पाँच लाख धरौटी माग गरेको छ । पाँच लाख धरौटी राखेका खतिवडामाथि थप अनुसन्धानका लागि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको छ ।
प्रहरीले रूपेशकी श्रीमती रचना शर्मा, भाइ दीपेश श्रेष्ठ, भान्जा अंशुल श्रेष्ठलगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
भारतीय नागरिक विमल पोद्दारसहित नुवाकोटका शरद भट्टराई, धादिङका वीरेन्द्र मगर, सुनसरीका विगलसिंह शर्मा, सिन्धुलीका ओमकुमार श्रेष्ठ, स्याङ्जाका दीपक शर्मा, रामेछापका वङ्देन फुन्सोक लामा, नवलपरासीका गोविन्द श्रेष्ठ र रामेछापका रुदे तामाङ यो मुद्दामा फरार छन् ।
गिरोहका नाइकेमध्ये एक भारतीय नागरिक पोद्दार हुन् । उनी यसअघि सुन तस्करीमा पक्राउ परी छुटेका थिए । डेढ महिनाअघि विमानस्थलमा बरामद भएको डेढ किलो सुन तस्करीको घटनामा पनि उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गत ६ मंसिरमा काठमाडौं बागबजारबाट पक्राउ परेका रूपेशमाथि अनुसन्धान गर्ने क्रममा पोद्दारसहित १७ जनाको संलग्नता पुष्टि भएको र अरू धेरै व्यक्तिमाथि थप छानबिन गर्नुपर्ने औँल्याएको छ ।
गिरोहका नाइकेमध्ये एक श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । बागबजारस्थित उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको थियो। उनले घरमा पैसा गन्ने मेसिनसमेत राख्दै आएका थिए ।
उनको हुन्डी कारोबारको खाता नै बरामद गरी प्रहरीले विस्तृत अनुसन्धान गरेको थियो । जसमा सबैभन्दा धेरै अमेरिकाबाट उनले अवैध कारोबार गर्दै आएका थिए । बयानको क्रममा उनले आफूले हुन्डी कारोबार गरेको स्वीकार गरेका छन् । प्रहरीले दुई खर्ब ८६ अर्बको बिगो बनाएकोमा उनले थोरै मात्र कारोबार गरेको दाबी गरेका छन् ।
प्रहरीका अनुसार रूपेशले ३५ वटा तथा आशिषले १२ वटा वालेटमार्फत क्रिप्टो कारोबार गर्दै आएका थिए । उनीहरूविरुद्ध संगठित अपराध र राष्ट्र बैंक ऐनअनुसार क्रिप्टोको कसुरमा मुद्दा दायर भएको हो ।
यो समूह नेपालमा हुन्डी र क्रिप्टोको कारोबार गर्ने सबैभन्दा ठूलो समूहमध्ये भएको प्रहरीले जनाएको छ । तर, यसमा जोडिएका अरू धेरै व्यक्तिको हकमा भने विस्तृत अनुसन्धान हुन सकेको छैन । रूपेशका भान्जा आयुष श्रेष्ठ, भारतीय नागरिक सतिश शर्मा, सञ्जय उपाध्यायलगायत धेरै व्यक्तिको यो गिरोहमा संलग्नता देखिएको छ ।














