काठमाडौं, २४ फागुन ।
महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेशबहादुर सिंहलाई कारबाहीस्वरुप प्रहरी प्रधान कार्यालयले हटाउने तयारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर अनुसन्धान गरिरहेको र सुन तस्करसँग साँठगाँठ भेटिएपछि उनलाई हटाउन लागिएको हो ।

जन्ममिति सच्याएको भेटिएपछि अख्तियारले उनीमाथि अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार कीर्ते गरेको पुष्टि भइसकेको छ । तर, विभिन्न निकायबाट दबाब दिएर सिंहले अनुसन्धानलाई प्रभावित बनाउने प्रयास गरिरहेका छन् । आयोगले उनीसँग बयान समेत लिइसकेको छ । पक्राउको तयारी भइरहेको स्रोत बताउँछ । यसअघि पनि उनी रंगेहात पक्राउ पर्दा अख्तियारको हिरासतमा बसिसकेका छन् ।
त्यस्तै विवादास्पद व्यापारी विष्णु खत्रीको चार किलो सुन हराएको घटनामा पनि सिंहको भुमिकाबारे छानबिन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तस्करसँग मिलेर उनले भरियालाई थुनामा राखी अनुसन्धान गरेका थिए । सो घटनाको गोप्य डिल भएको स्रोत बताउँछ । छानबिन सुरु भएपछि आफ्नो सरुवा रोक्न उनले विभिन्न व्यक्तिलाई परिचालन गरेका छन् ।











