
काठमाडौं, २८ फागुन । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा बुधबार आज बिहान शक्तिशाली बम विस्फोट भएको छ ।
मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
बम विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको बताइएको छ । पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फुटेको छ । घटना कसले घटायो भन्नेबारेमा अनुसन्धान गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिए ।
बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले गस्ती गरेका थियो भने आज बिहानैदेखि प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको स्थानीयवासीको भनाइ छ । बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।











