
काठमाडौं । सङ्घीय संसद सचिवालयले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्ने गयारी गरेको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पदावधि सकिएलगत्तै राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने तय भएको जानकारी दिए ।
माघ १० गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्य निर्वाचित भइसकेका छन् । एकतिहाइ सदस्य निर्वाचित भएर आएपछि नेकपा माओवादी केन्द्र सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ ।
कांग्रेसले दोस्रो ठूलो दलको हैसियत पाएको छ भने सबैभन्दा बढी सदस्य रहेको नेकपा एमाले १० सदस्यसहित तेस्रो स्थानमा खुम्चिएको छ । सचिवालयले प्रकाशित गरेको कार्यसूचीबमोजिम फागुन २७ गते रष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गरिने छ ।














