
काठमाडौं । जनमत पार्टीले तत्काल सङ्घीय सरकारबाट नबाहिरिने निर्णय गरेको छ । समसामयिक राजनीतिबारे छलफल गर्न आइतबार बसेको जनमत पार्टीको सचिवालय बैठकले सङ्घीय मन्त्रालयबाट तत्काल मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो ।
मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै जनमत सङ्घीय सरकारबाट बाहिरिने हल्ला चलिरहेको बेला जनमत पार्टीले यस्तो निर्णय गरेको हो । बैठकले जनताको कामलाई सशक्त रुपमा अगाडि बढाउने समेत निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए ।
प्रवक्ता यादवका अनुसार बैठकमा पार्टीको अबको कार्यदिशा कस्तो हुन्छ भन्नेबारे पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसमा राजधानीमा बृहत आमसभा गर्ने निर्णय पनि गरेको छ ।














