Logo
Logo
उपनिर्वाचनको तयारीमा आयोग

मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान, कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?


882
Shares

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको रिक्त स्थानमा पदपूर्तिका लागि आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न भनेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रिक्त २३ पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न सरकारसँग परामर्श गरी उपयुक्त समयमा उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी भइरहेको जानकारी दिए । सोही प्रयोजनका लागि आयोगले योग्यता पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न भनेको हो ।

२०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन भएको थियो भने २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । विभिन्न कारणले निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो ।

कहाँ–कहाँ हुँदै छ उपनिर्वाचन ?
हाल देशभर २३ स्थानमा जनप्रतिनिधिको पद रिक्त भएको छ । देशभर स्थानीय तह, प्रदेश सभा र संघीय संसद् गरि २३ स्थानमा पद रिक्त भएको हो ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य १, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष २, वडाध्यक्षको १७ पद रिक्त भएको छ । आयोगको सिफारिसमा सरकारले मिति घोषणा गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुनेछ ।

आयोगको तथ्यांकअनुसार संघीय संसद्तर्फ प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि उनी निर्वाचित इलाम क्षेत्र नम्बर २ रिक्त भएको छ  । यसैगरी सवारी दुर्घटनामा परी प्रदेश सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै उनी निर्वाचित बझाङ १ (१) रिक्त भएको छ ।

त्यस्तै दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको उच्च रक्तचापका कारण गत माघमा निधन भएपछि यो पद पनि रिक्त छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातबाट निधन भएपछि पद रिक्त छ ।

आयोगका अनुसार सुनसरीको गढी गाउँपालिका–६, उदयपुर त्रियुगा नगरपालिका– १२, रौतहट इशनाथ नगरपालिका– ७, राजपुर नगरपालिका– ६, काठमाडौं कीर्तिपुर नगरपालिका– ४, नुवाकोट ककनी गाउँपालिका– २, मकवानपुर हेटौँडा उपमहानगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५ पनि रिक्त छ ।

यता बझाङ सुर्मा गाउँपालिका– ४, डोटी पूर्वीचौकी गाउँपालिका– ६ र काठमाडौं महानगरपालिका– १६, गुल्मी मुसीकोट गाउँपालिका– १, रोल्पा रुन्टीगढी गाउँपालिका– ४, बर्दिया ठाकुरबाबा नगरपालिका– ४, कालिकोट तिलागुफा नगरपालिका– ४, जाजरकोट कुशे गाउँपालिका– ७, दार्चुलाको दुहुँ गाउँपालिका– ५ पद रिक्त छ । आयोगले ती रिक्त स्थानहरुमा उपनिर्वाचन गर्ने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्