Logo
Logo

बन्द हेटौँडा सिमेन्टको उत्पादन सुचारु


1.1k
Shares

हेटौँडा । हेटौँडामा रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग बन्द भएको करिब साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । उद्योगले सोमबार बिहानबाट उत्पादन थालेको उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले जानकारी दिए ।

कोइलाको अभावमा बन्द रहेको उद्योग साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको हो । महाप्रबन्धक पाण्डेले कोइला सप्लायर्सहरूलाई भुक्तानी दिएपछि कोइला आपूर्ति भई पुनः उद्योग चल्न थालेको बताए ।

‘कोइला सप्लायर्सहरूलाई भुक्तानी दिन नसकेपछि कोइला आपूर्ति बन्द भएर उद्योग नियमित सञ्चालन गर्न सकेका थिएनौँ । कोइला सप्लायर्सहरूलाई भुक्तानी दिएपछि केही समयलाई पुग्ने कोइला आपूर्ति भएको छ । अब तत्काल उद्योग बन्द हुँदैन,’ महाप्रबन्धक पाण्डेले भने ।

चार वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग समय–समयमा कोइला अभाव र उपकरण बिग्रिएर बन्द हुने गरेको छ । ४० वर्ष पुराना मेसिनबाट अहिले पनि उत्पादन गर्नुपर्ने बाध्यताका कारण वेला–वेलामा उद्योग बन्द हुने गरेको महाप्रबन्धक पाण्डेको दाबी छ ।

पुराना मेसिनका कारण उत्पादन लागत महँगो पर्ने गरेको र उद्योगले निजी क्षेत्रका उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको उनले प्रस्ट पारे । यस्तै, कच्चा पदार्थको अभाव र ढुंगा पिस्ने मेसिन (क्लिंक) बिग्रिएर पनि वेला–वेलामा सिमेन्ट उत्पादन रोकिने गरेको महाप्रबन्धक पाण्डेको भनाइ छ ।

दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योगबाट लामो समय उत्पादन नहुँदा मौज्दात सिमेन्ट बिक्री गरेर त्यसबाट प्राप्त रकमले कोइला सप्लायर्सहरूलाई भुक्तानी दिएको उनले बताए । पाण्डेका अनुसार चालू आर्थिक वर्षमा उत्पादन भएको २ लाख ४९ हजार ४५६ बोरा सिमेन्टमध्ये करिब १ लाख बोरा सिमेन्ट अझै मौज्दात छ ।

प्रतिक्रिया दिनुहोस्