Logo
Logo

कुमार पौडेल इन्काउन्टरमा संलग्न प्रहरीलाई उन्मुक्ति दिइएकोमा अमेरिकाको चासो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० फागुन । 
अमेरिकाले नेपालमा मानव अधिकार उल्लंघनका घटना बढेको उल्लेख गरेको छ । २०१९ को मानवअधिकार अभ्यास प्रतिवेदनमा अमेरिकाले यस्तो आरोप लगाएको छ । अमेरिकी विदेश मन्त्री माइक पम्पेओले बुधबार रिपोर्ट सार्वजनिक गरेका हुन्।
प्रतिवेदनमा वेवसाइटहरु बन्द गर्नु, गालिबेइज्जती कानुन, शान्तिपूर्ण ढंगबाट सभासम्मेलन गर्न पाउने अधिकारको कटौती, गैरसरकारी संस्थामाथिको बन्देज, तिब्बती शरणार्थीहरुको गतिविधिमा बन्देज, भ्रष्टाचारका घटना वृद्धि लगायतका घटनालाई मानव अधिकार उल्लंघनका उदाहरणका रुपमा प्रस्तुत गरिएको छ।

अमेरिकी प्रतिवेदनमा गैरकानुनी तथा राजनीतिक स्वार्थ केन्द्रित हत्या उप शीर्षकमा विप्लव समूहका कुमार पौडेलको हत्या गरिएको उल्लेख छ।‘यसबीच सरकार वा यसका एजेन्टहरुबाट गैरन्यायिक तथा गैरकानुनी हत्यामा संलग्न भएका घटनाहरु रिपोर्ट भएका छन्,’ प्रतिवेदनमा अगाडि भनिएको छ, ’जुन २० मा प्रहरीले सर्लाहीमा माओवादीबाट अलग भएको विप्लव नेतृत्वको पार्टीका स्थानीय नेता कुमार पौडेलको हत्या गरेको छ।’

प्रहरीले ’जवाफी कारवाही’ भने पनि राष्ट्रिय मानव अधिकार आयोग, एड्भोकेसी फोरमलगायतका संघ संस्थाले इन्काउन्टर नाटकीय भएको बताइरहँदा सेप्टेम्बरसम्म कुनै पनि अधिकारीहरुलाई कारवाहीको दायरामा नल्याइएको प्रतिवेदनमा उल्लेख छ।
सो घटनामा संलग्न तीन प्रहरीलाई पक्राउ गरेर कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले निर्देशन दिएको चार महिना भइसकेको छ । तर, प्रहरी प्रधान कार्यालयले ती प्रहरीलाई निलम्बन समेत गरेको छैन । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रत्यक्ष रुपमा खटाएका घुमुवा टोलीले पौडेलको हत्या गरेको थियो । निर्देशन दिने खनाललाई समेत कारबाही गर्न आयोगले भनेको छ । तर, पूर्व महानिरीक्षक खनालको दबाबमा वर्तमान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले दोषी प्रहरीलाई कारबाही गरेका छैनन् ।

यो प्रकरणमा पूर्व महानिरीक्षक खनाल समेत तानिने सम्भावना छ । गोली हान्ने प्रहरीले खनालकै निर्देशनमा आफुहरु खटिएको बयान मानव अधिकार आयोगमा दिएका छन् ।

त्यस्तै, प्रतिवेदनमा प्रहरी इन्काउन्टरमा भक्तपुरमा मारिएका ११ वर्षीय निशान खड्कालाई अपहरण गर्ने दुई जनाको हत्याको घटना पनि टुंगो नलागेको समावेश छ। कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा १३ वर्षीय बालकको मृत्यु तथा २४ जना घाइते भएको घटनामा संलग्नलाई कारवाही नभएको पनि प्रतिवेदनमा समावेश छ।

प्रतिक्रिया दिनुहोस्