काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक अहिले बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ ।
बिहीबारको केन्द्रीय समिति बैठकमा महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरू छलफलका लागि प्रस्तुत गरिएको थियो । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपसभापति खड्काको नीति प्रस्तावमा राजनीतिक, आर्थिक, सामाजिक र परराष्ट्र नीति समेटिएको छ । महामन्त्री थापाको सांगठिनक प्रस्तावमा पार्टीको वर्तमान अवस्था, साङ्गठनिक गतिविधि, नेता कार्यकर्ताको मनोविज्ञान, निर्वाचनमा गठबन्धन गर्ने नीति, मिसनमा प्रस्टता, जिम्मेवारी र जबाफदेही, १५औँ महाधिवेशनको कार्यतालिका लगायतका विषय समेटिएको छ ।
यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव समकालीन समाज, युवामा छाएको निराशा, आक्रोश र त्यसको समाधानको उपायमाथि केन्द्रित छ । आज ती तीनवटा प्रस्तावमाथि थप छलफल हुने सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।














