काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा सरकार बनाउँदा उत्पन्न परिस्थितिको असर राष्ट्रिय सभा निर्वाचनमा देखिएको टिप्पणी गरेका छन् ।

बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत शर्माको प्रतिवेदनमा कोशी प्रकरणलाई छुट्टै व्याख्या गरिएको छ । कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले कांग्रेसप्रति असन्तुष्ट देखिएको शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
गठबन्धनबाट १८ जना देशभर निर्वाचित हुँदा माओवादी केन्द्रको उम्मेदवार चम्पादेवी कार्की मात्रै कोशीमा पराजित भएका थिए । ‘यो घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी छ,’ शर्माले प्रतिवेदनमा लेखेका छन् ।
कोशीमा सरकार गठन गर्दा जे जस्ता घटनाक्रम भए त्यसले पार्टीभित्र द्वन्द्व सिर्जना गरेको शर्माको ठहर छ ।
नेता डा. शेखर कोइराला पक्षधरले नेकपा एमालेसँग मिलेर कोशीमा सरकार बनाएपछि कांग्रेसभित्र विवाद भएको थियो । एमालेको समर्थनमा कोइराला निकट प्रदेश सांसद केदार कार्कीले मुख्यमन्त्री बनेका थिए ।
कांग्रेस र माओवादी बीच कोशीको मुख्यमन्त्री माओवादी केन्द्रबाट बनाउने सहमति भएको थियो । त्यसको विरुद्धमा कोइराला पक्षका सांसद उत्रिएका थिए । सभापति शेरबहादुर देउवा र दुई महामन्त्री माओवादीलाई मुख्यमन्त्री दिन तयार रहेको भन्दै कोइराला पक्षधर रुष्ट बनेको थियो ।














