Logo
Logo

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग


693
Shares

काठमाडौं । नेकपा एमालेले बालकुमारी घटनामा जोडिएका  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका एमालेका सचेतक महेश बर्तौलाले बालकुमारीमा २ जना युवाको ज्यान गएको घटनामा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानविन आयोगले भनिसकेको अवस्थामा दोषीलाई मन्त्री पदमा राख्न नमिल्ने भन्दै बर्खास्त गर्न माग गरेका हुन् ।

बर्तौलाले सरकारले गठन गरेको आयोगले नै दोषी भनेका मन्त्रीलाई जोगाएर सिपाहीलाई कारबाही गर्ने कुरा एमालेलाई स्वीकार्य नरहेको भन्दै तत्काल मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरे । उनले घटनामा गृहमन्त्री पनि दोषी रहेको भन्दै सिपाहीलाई डण्डा र मन्त्रीलाई झण्डा स्वीकार्य नहुने बताए ।

त्यसपछि बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि बालकुमारी घटनामा मन्त्री नै दोषी भएको भनेर छानबिन समितिले निष्कर्ष निकालेको भन्दै मन्त्री ज्वालाको राजीनामा माग गरे ।

‘भौतिक पूर्वाधार मन्त्री नै दोषी रहेको कुरा जुन भन्दै आइएको थियो त्यो प्रतिवेदनले पनि स्पष्ट पार्यो । यति स्पष्ट पारिसक्दा पनि अहिलेसम्म न मन्त्रीले नैतिकताको प्रदर्शन गर्नु भएको छ न सरकार, न प्रधानमन्त्रीले,’ उनले भने ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा कोरिया जान पाउनुपर्ने माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्