अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालको राष्ट्रियता गम्भीर संकटमा परेको बताएका छन् । सोमबार प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले विभिन्न भ्रष्टचारीका दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुनेमा जोड दिए ।
नेता सिंहले भने, ‘देश अहिले गम्भीर संकटमा छ, गणतन्त्र धर्म निरपेक्षता लगायतका उपलब्धिहरु जोखिममा परेका छन् ।’ प्रतिगमनकारीहरु अराजकता फैल्याएर प्राप्त उपलब्धिहरुलाई समाप्त पार्ने दाउमा रहेको उनले दावी गरे ।

महामन्त्री सिंहले वर्तमान अवस्थामा गठबन्धन भत्कने कुनै सम्भावना नभएको बताउँदै पाँच दलीय गठबन्धनले पाँच वर्ष सरकार चलाउने दावी गरे ।
अमेरिका लगायतका शक्ति राष्ट्रहरुले राजनीतिक पार्टी नै खोलेर नेपालमा हस्तक्षेप गर्न आइपुगेको दाबी गर्दै उनले विगतमा दलका नेतालाई आफ्नो अनुकुल प्रयोग गर्दै आएकोमा अहिले पार्टी नै स्थापना गरेर नेपालमा हस्तक्षेप गर्न आएको बताए । अमेरिकाले आफ्नो अनुकुल काम गर्नका लागि राजनीतिक दलमा लगानी गरेको उनको दावी छ ।
चीनलाई साईजमा राख्नका लागि अमेरिकाले नेपालको भूमि प्रयोग गर्न खोजेको बताउँदै उनले भने, ‘अहिले अमेरिकाको मुख्य प्रतिस्पर्धा चीनसँग छ । त्यसले गर्दा पनि उसले चीनलाई साईजमा राख्न नेपालको भूमि प्रयोग गर्न खोजिरहेको छ ।’














