
काठमाडौं । विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार रहेका नेता भरत उप्रेती वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताउँछन् ।
भ्रष्टाचार मुक्त नभएसम्म देश समृद्ध नहुने भन्दै उनले देश र जनताका लागि राजनीतिक नेतृत्वले त्याग गर्न सक्नुपर्ने सुझाव दिए । ‘आफैँ खाऔँ आफैँ मोटाऊ भन्नेतिर लाग्नुहुँदैन । एकजुट भएर सबै देश बनाउन लाग्नुस्’, उनले भने ।
उनले सबै पार्टीका नेतृत्वलाई कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंहको सिद्धान्त र जीवनसङ्घर्षलाई आत्मसात् गरेर बाटो बिराएको भए पुनर्विचार गर्न आग्रह समेत गरे । सबै नागरिकले सुख शान्तिसँग जिउन पाए मात्र प्रजातन्त्र दिगो हुने नेता उप्रेतीको धारणा छ ।
विसं १९८८ मा धादिङ नौबिसेमा जन्मिएका नेता उप्रेती ११ वर्षको हुँदा अध्ययनका लागि काठमाडौँ आएका थिए । एसएलसी परीक्षा दिने तयारीमा रहेका बेला २००६ सालमा गुरु नरहरि दवाडीले आफ्नो निवास जैसीदेवलमा ट्युसन पढाउने क्रममा पहिलोपटक प्रजातन्त्रका बारेमा जानकारी गराएको उनले बताए ।
नेता उप्रेतीले भने, ‘कांग्रेसका संस्थापक नेताहरू बीपी र गणेशमानजी कसरी र किन निर्वासनमा जानुभयो, भनेर जानकारी गराउनुका प्रजातन्त्रको सङ्घर्षका बारेमा सुनाउनु भएपछि तत्कालीन शासकबाट मुलुकमा अन्याय भएको रहेछ भन्ने दिमागमा प¥यो । त्यसपछि हाम्रो भेट दयाविर सिंहसँग भयो । उनले हामीलाई प्रजातन्त्रका बारेमा धेरै सिकाउने र प्रजातन्त्रको आन्दोलनका काममा लगाउनुभयो ।’
विसं २००७ देखि केही साथीसहित आफूहरू प्रजातन्त्रको आन्दोलनका क्रममा पम्पलेट र अन्य सामग्री आदानप्रदान गर्ने क्रममा भूमिगत भएको स्मरण गर्दै उनले राजा त्रिभुवन भारत निर्वासनमा जाँदा आफूहरू खुला राजनीतिमा आएको र प्रजातन्त्रका पक्षमा नारा लगाएको स्मरण गरे ।
राजनीतिमा कहिलेदेखि कसरी प्रवेश गरे भन्ने जिज्ञासामा उनले मुलुकमा प्रजातन्त्र स्थापनासँगै कांग्रेसबाट राजनीति प्रवेश गरेको जानकारी दिए । जैसीदेवलमा रहेकोे कांग्रेसको केन्द्रीय कार्यालयमा नेता कृष्णप्रसाद भट्टराईले पार्टी सदस्यता दिएर पार्टी सङ्गठन बनाउन लागेको उनको भनाइ छ ।
‘त्यसपछि बीपी र गणेशमानजीसँग भेट हुन थाल्यो, बीपीले मलाई धाप मार्दा गर्वानुभूति भयो, भेटघाटका लागि गणेशमान सिंहको घरमा नियमित गइन्थ्यो’, उनले भने । त्यसपछि उनी २०१७ सालदेखि विभिन्न समयमा गरी २०५३ सालसम्म धादिङ कांग्रेसको नेतृत्वको जिम्मेवारी निर्वाह गरे ।
राजनीतिकै क्रममा विसं २०१५ मा सम्पन्न निर्वाचनमा नेता उप्रेतीले धादिङ तत्कालीन १०४ क्षेत्र नं मा कांग्रेसबाट टिकट पाए । तर सो क्षेत्रबाट गोर्खा परिषद्का भारतशम्शेर राणा निर्वाचित भए । नेता उप्रेतीले पाँच हजार मत पाए भने राणाले छ हजार मत प्राप्त गरेका थिए ।
पहिलो आमनिर्वाचनपछि बनेको बीपी नेतृत्वको सरकारले क्रान्तिकारी र ऐतिहासिक काम गर्दागर्दै राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेको उनले बताए । नेता उप्रेतीले पुस १ गतेको ‘कु’ भएको दिन आफू धादिङको बेनीघाटमा शोसक सामन्तीलाई अन्त्य गर्ने ठुलो आमसभामा रहेको स्मरण गरे ।
त्यसपछिको राजनीतिक यात्राका बारेमा स्मरण गर्दै उनले राजा महेन्द्रले राजनीतिक कु गरेको थाहापछि विभिन्न स्थानमा लुक्दै भाग्दै सङ्घर्ष गर्दै १० वर्ष भारत निर्वासनमा बसेको जानकारी दिए । विसं २६ सालमा राजनीतिक केही खुकुलो भएपछि नेपाल फर्किनुभएका नेता उप्रेतीले त्यसपछि राजनीतिमा अझ बढी सक्रिय भएको उल्लेख गरे । ‘बीपी उपचारका लागि जेटबाट छुटेपछि उहाँ र गणेशमानसँग नियमित भेट हुन्थ्यो । बीपी मेरो निवासमा आउने, खाना खाने गर्नुहुन्थ्यो’, नेता उप्रेतीले भने ।
उनले नेता किसुनजीले वर्तमान पार्टी सभापति शेरबहादुर देउवामा कांग्रेस र मुलुकलाई हाक्ने ामताको नेतृत्वपन देखेर तत्कालीन बेलायती राजदूतलाई भनेर अध्ययनका लागि बेलायत पठाएको जानकारी गराए ।
साथै नेता उप्रेतीले काठमाडौँमा भएको एक बम काण्डका बेला देउवासँगै आफू जेलमा रहँदा उनले क्रूर यातना सहेर पनि देखाएको हिम्मतबाट आफू निकै प्रभावित भएको र प्रशंसक रहेकोसमेत बताए । आज फागुन ७ देखि सुरु हुन लागेको कांग्रेसको महासमिति बैठकलाई शुभकामना सन्देश दिदै उनले पार्टीमा गुटउपगुट नगरी एकताका साथ मिलेर अघि बढ्न आग्रह गर्दै पार्टीलाई कमजोर हुने कुनै पनि काम नगर्न सबै नेता कार्यकर्तालाई आग्रह गरे ।
हाल काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आएका नेता उप्रेती प्रजातन्त्र पुनःस्थापनापश्चात २०४८ सालमा पनि धादिङबाट कांग्रेसको उम्मेदवार भएका थिए तर उनी वियजी हुन सकेनन् । प्रजातन्त्रको आन्दोलनमा लागेका कारण नेता उप्रेतीलाई तत्कालीन शासकले दुई पटक सर्वसहरणसहित जन्मकैदको फैसला सुनाएको थियो ।














