Logo
Logo

कांग्रेसको निर्णय कुर्दै माओवादी


7.9k
Shares

काठमाडौं । विधानतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको यो कार्यकाल नै अन्तिम हो । अब पार्टी नेतृत्वमा बस्न पाउने समय भनेको दुई वर्ष मात्र छ । 

विधानले एक व्यक्ति दुई कार्यकाल मात्रै सभापति बन्न पाउने व्यवस्था गरेकाले २०८२ मा हुने १५औँ महाधिवेशनबाट नेतृत्वबाट देउवा स्वतः बिदा हुनेछन् । देउवापछि कांग्रेस नेतृत्व लिन शेखर कोइराला र गगन थापाबीच हानथाप चलेको छ । सोमबार जारी  महासमिति बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेका सांगठनिक प्रस्तावमा देउवाले लगाम लगाउने प्रयास गरेका छन् । 

देउवाले आफूअनुकुल काम नगर्ने नेतालाई खेदो खनेरै सिध्याउँछन् । विमलेन्द्र निधि, बलबहादुर केसी, गुरुराज घिमिरे, डा.मिनेन्द्र रिजालदेखि महेश आचार्यसम्म देउवाको बलमिचाइमा परेर उठ्न नसक्ने भएका छन् । यीमध्ये केही आफ्नो धरातलका कारण अहिलेसम्म अस्तित्वमा छन्, केही गुमनाम भइसकेका छन् ।

पार्टीको वैचारिक धारणा तय गर्न नीति अधिवेशनकै रूपमा सुरु महासमिति बैठकमा महामन्त्री थापाले लेखेको प्रतिवेदनमा देउवाले अङ्कुश लगाउने भरमग्दुर प्रयास गरे । भविष्यमा चुनावी गठबन्धन नगर्ने प्रस्ताव थापाले प्रतिवेदनमा उल्लेख गरेपछि त्यसमा अङ्कुश लगाएर देउवाले हटाउन दबाब दिए । महामन्त्री थापाको दस्ताबेजमा प्रस्तावित चुनावी गठबन्धनको विषयसहितका केही प्रावधान हटाउन देउवाले आफै र निकटका नेताहरू लगाएर दबाब दिइरहे । 

गठबन्धनले पार्टीको लोकप्रिय मत घटेको निष्कर्षसहित भविष्यमा कुनै पनि चुनावी गठबन्धनमा सामेल हुन नहुने वाक्यांश प्रस्तावमा हटाउन थापा तयार भएनन् । चुनावी गठबन्धन गर्न नहुने पक्षमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि छन् । तर, उनको धारणा अली फरक छ । यसबारे समय धेरै रहेकाले तत्काल निर्णय नगरेपनि केही नबिग्रने मत शर्माको छ । थापा भने यस विषयमा पार्टीले नीतिगत बहस बनाउनुपर्ने पक्षमा छन् । 

कांग्रेस बदल्न र देश बनाउन गठबन्धन गरेर निर्वाचनमा जान हुन्न भन्नेमा अधिकांश युवा नेताहरू एक ठाउँमा छन् । केहीले त सार्वजनिक रूपमै आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने धारण व्यक्त गरिसकेका छन् । तर, सभापति देउवा र एक्लै निर्वाचनमा होमिएमा कहिल्यै जित्न नसक्ने नेताहरू त्यसको विरुद्धमा छन् । 

वर्तमान गठबन्धन सरकारमा अर्थमन्त्री रहेका डा. प्रकाशशरण महत, मीन विश्वकर्मा, आरजु देउवा अम्बिका बस्नेत, ईश्वरी न्यौपानेसहितले गठबन्धन गर्नैपर्ने अडान राखिरहेका छन् । 

खासमा लोकतन्त्रमा आवधिक निर्वाचन हुन्छ । निर्वाचनमा जनताले मत दिए जनआकांक्षा अनुरुप सरकार चलाउने, नभएमा प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गर्ने हो । तर, यहाँ त मिलीजुली गरेर बाँडाबाँडी खाने, जनआकांक्षा भाडमा जा भन्नेहरूको बहुमत कांग्रेसमा हाबी भएको छ ।

नेतृत्वलाई यही विषयमा कन्भिन्स गर्ने र आफ्नो स्वास्थ्य सिद्ध गर्नेहरू नेतृत्वको वरिपरि घुमिरहेका छन् । तिनीहरूकै कुरा सुनेर देउवा अघि बढिरहेका छन्, जसले कांग्रेसमा समस्या निम्त्याएको छ । 

निर्वाचन प्रणालीको सीमाका कारण कुनै पनि दलले बहुमत प्राप्त नगरे निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्न तालमेल गर्नु ठिकै हो । तर,  निर्वाचनपूर्वको गठबन्धन त्यति उपयुक्त हुन्न । 

आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्न लगाउनु उपयुक्त नहुने मत कांग्रेसमा छ । देउवा भने परिस्थिति हेरेर गठबन्धन गर्नुपर्ने अडानमा छन् । ०७९ सालमा गठबन्धन नभएको भए कांग्रेस पहिलो पार्टी बन्ने थिएन भन्ने कुरा देउवाले बुझेका छन् । 

अहिले गठबन्धन सरकारमा रहेका केही नेताहरू गगन थापाको प्रस्ताव सत्ता गठबन्धनको भविष्यसँग जोडेर परिमार्जन गर्न देउवामार्फत दबाब दिइरहेका छन् । उनीहरू अहिल्यै गठबन्धन नगर्ने नीति पारित गरेर जाँदा माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेर सरकार बनाउन सक्ने सम्भावना देखिरहेका छन् । 

डा. शेखर कोइरालाले खुलेरै महामन्त्री थापाको प्रस्तावलाई समर्थन गरेका छन् । कोइरालाले चुनावी गठबन्धन, निर्वाचन प्रणाली संशोधन, सभापतिलाई शक्तिशाली बनाउने, प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने, स्वतः महाधिवेशन प्रतिनिधि नहुनेलगायतका प्रावधानमा संशोधन गर्नुपर्नेलगायतका थापाका प्रस्तावमा सहमति जनाउँदै भविष्यमा कुनै पनि तहको चुनावमा गठबन्धन नगर्ने प्रस्तावित नीतिको समर्थन गर्दै सबै सदस्यहरूलाई यसबारेमा आवाज उठाउन आग्रह गरेकाले पनि महासमितिको माहोल देउवाको पक्षमा भन्दा थापाको पक्षमा देखिने सम्भावना प्रबल छ । जसका कारण देउवा पहिल्यै डराएर प्रस्तावबाटै हटाउने प्रपञ्चमा लागेको स्पष्टै छ । 

कांग्रेसका अग्रज नेताहरूले स्थापित गरेको पार्टीको मौलिक विचारलाई गठबन्धनको छायामा राख्न खोजिएको तर्क धरै नेताहरूले गर्न थालेका छन् । गठबन्धन गर्दा मत प्रतिशत ३४, ३५ बाट घट्दै २७ प्रतिशतमा झरेकोमा धेरै नेता चिन्तित छन् । महासमितिले वर्तमान राजनीतिक परिवेश र पार्टीको कार्यदिशालाई सम्बोधन गरेर प्रस्ट विचार र जनताको अवस्था परिवर्तनका लागि थप विश्वास दिलाउन सक्नुपर्ने धेरैको तर्क छ । 

तसर्थ, नेताहरूले बाहिर तर्क गरेर हिँड्नु भन्दा देउवासँग ‘टेबुलटक’ गरी पार्टीको नीति, सिद्धान्त तथा अग्रजले स्थापना गरेको मौलिक विचारलाई आत्मसाथ गर्दै कांग्रेसलाई अगाडि बढाउन दबाब दिनु आवश्यक छ । लोकतन्त्रमा जनतालाई प्रतिनिधि चुन्ने अधिकार छोडिदिनुपर्छ ।

त्यो भनेको गठबन्धन गरेर गठबन्धनका एजेन्डा लिएर निर्वाचनमा होमिने होइन, दलका एजेन्डा लिएर जनतालाई आफूप्रति आकर्षित गर्न सक्नुपर्छ । त्यो अवस्था कांग्रेसमा निर्माण गर्न सबै नेता मिलेर देउवाको बलमिचाइलाई परास्त गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्