
काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारीमा दुई जना युवाको ज्यान गएको घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
१३ पुसमा सुजन राउत र वीरेन्द्र साउदको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि विपक्षी दलहरुले ६ फागुनकै बैठकमा राजीनामा मागेका थिए । त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए ।
तर अहिलेसम्म मन्त्रीले राजीनामा नदिएको भन्दै आजको संसदमा विपक्षी एमाले, रास्वपा र राप्रपा तीनवटै दलका सांसदहरुले उठेर अवरोध जारी राखेपछि सभामुखले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।














