
काठमाडौं । धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीविरुद्ध गाली गलौजमा उत्रिएका छन् । नागरिक उड्डयन प्राधिकरणले सम्भाव्यता अध्ययन गरी धरान उपमहानर क्षेत्रमा विमानस्थल बनाउन नमिल्ने निष्कर्ष निकालेपछि आक्रोशित बनेका मेयर साम्पाङ मन्त्री किरातीविरुद्ध सामाजिक सञ्जालमार्फत गाली गलौजमा उत्रिएका हुन् ।
मन्त्री भएर पनि धरानमा जसरी पनि विमानस्थल बनाउने चाँजोपाँचो मिलाउन नसकेको भन्दै मेयर साम्पाङले मंगलबारदेखि मन्त्री किराँतीविरुद्ध फेसबुकमा अशिष्ट भाषामा स्टाटस लेखेको लेख्यै छन् । यतिमात्र होइन सामाजिक सञ्जालमा लेखेर मात्र नपुगेर उनले भिडिओ नै जारी गर्न थालेका छन् ।
मन्त्री किरातीविरुद्ध झन्डै दर्जन स्टाटस लेखिसकेका मेयर साम्पाङले पछिल्लो समय भिडिओमार्फत पनि गाली गर्न थालेका हुन् । उनले सामाजिक सञ्जालमा राखेको भिडिओमा उनी सानो भेलाजस्तोलाई सम्बोधन गरिरहेका छन् । मन्त्री किरातीलाई ‘हुतीहारा, गोज्याङ्ग्रा’जस्ता शब्दले गाली गर्दै उनले अब आफ्नै पहलबाट धरानमा विमानस्थल बनाउने दाबी गरेको भिडियोमा सुन्न सकिन्छ ।
उनले बुधबार पनि किरातीविरुद्ध ‘हुतीहारा’, ‘गाईभैँसी पालेर बस्नु’जस्ता शब्दले प्रहार गरेका छन् । उनले लेखेका छन्, ‘अब आउँदो दिनमा गाईभैँसी पालेर बस्नु। मन्त्री बनेर पनि केही गर्न नसक्नेले फोहोरमैला टिपेजस्तो गरेर फोटो खिचाउनुबाहेक अर्थोक केही नगरेको देख्दा पो हैरान। कुलको इज्यत राख्छ कि भनेको हुतीहारा परेछ। जनताले सम्झिरहनु पर्छ है।’
मेयर साम्पाङले धरानमा विमानस्थल बनाउनैपर्ने जिकिर गरेपछि मन्त्री किरातीको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणले धरानमा टोली पठाई ‘विस्तृत सम्भाव्यता अध्ययन’ गरेको थियो । तर अध्ययनपछि प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष निकालेको थियो । धरान क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने प्राधिकरणको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
तर मेयर साम्पाङले धरानमा जसरी पनि विमानस्थल बन्नुपर्ने जिकिर गर्दै यसका लागि मन्त्री किरातीले काम गर्न नसकेको भन्दै गालीगलौजमा उत्रिएका हुन्। उनले लेखेका छन्, ‘एउटा नाथे नियमावली संशोधन गर्न नसक्ने मन्त्रीले के गर्छ हौ? भाषण मात्रै गर्दै बस्नु, उहिल्यै बर्गर खाको ढिँडो खाको। देश परिवर्तन गर्ने आँट हुनुपर्छ नि! खोइ त आँट? छि !’
उनी यत्तिमै रोकिएका छैनन् । अर्काे स्टाटस लेखेका छन्, ‘एउटा जाबो नियमावली बल्दल्न नसक्नेले भुत्रो गर्छ देशको परिवर्तन । मालिकलाई रिझायो बस्यो।’ मन्त्री किरातीले भने यस विषयमा अहिलेसम्म मुख खोलेका छैनन् ।
गफ मात्रै गर्ने काम भुत्लो नगर्ने मन्त्रीले कुल कै बेइज्यत ! pic.twitter.com/qAvL1Lc9lJ
— Hark Sampang A revolution (@hark_sampang) February 28, 2024














