काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ललितपुरस्थित बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई बर्खास्त नगरेको भन्दै प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ ।
बैठक सुरू हुनेवित्तिकै एमाले सांसदहरू सिटबाट उठेर दोषी मन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेका हुन् । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्नका लागि समय दिएका थिए ।

उनले सरकारी प्रतिवेदनले बालकुमारी घटनामा दोषी ठहराएका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त किन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कसले रोक्यो भन्दै उनले प्रश्न गरे ।
उनले भने, ‘बालकुमारी घटनाका दोषी मन्त्रीलाई बरखास्त गर्न प्रधानमन्त्रीलाई कसले रोकेको हो । सरकार जिम्मेवारी भएन । सरकार हरायो । प्रधानमन्त्रीको खोजी हुनुपर्यो । खोजी गर्नका लागि संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि ? संसद स्थगित गर्नुपर्ने हो ।’ लघुवित्त, सहकारी र दुग्ध किसानका मागप्रति सरकारले वेवास्ता गरेको समेत उनले आरोप लगाए ।














