Logo
Logo

संसदमा प्रधानमन्त्री हराएको चर्चा


441
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले समसामयिक विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नआएपछि प्रधानमन्त्री हराएको सूचना निकाल्नुपर्ने भन्दै व्यंग्य गरेको छ । 

शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसद सूर्य थापाले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनासहितमा दोषी देखिएका र मुछिएका मन्त्रीलाई बर्खास्त गर्ने विषयमा जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नआएपछि उनलाई खोज्न उच्चस्तरीय समिति बनाउनुपर्ने हो ? भन्दै प्रश्न गरे ।

‘सरकार जवाफदेही भएन सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुप¥यो । प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि ? संसद् स्थगित गर्नुपर्ने हो कि ? कति दिन चाहिने ?’, उनले भने ।

सभामुख देवराज घिमिरेले यसअघिको बैठकमा गरेको रुलिङविपरीत प्रधानमन्त्री प्रचण्ड जवाफ दिन बैठकमा नआएपछि एमालेसहित प्रतिपक्षी दलले आपत्ति जनाए । 

बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किरातीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् । 

तीन मन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ । तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसक्दा पनि प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए ।
 

प्रतिक्रिया दिनुहोस्